
बुधवार , फाल्गुण १७, २०७९
अर्घाखाँची, १७ फागुन ।
अर्घाखाँची सदरमुकाम सन्धिखर्कमा जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता नसकिदै रनिङ शिल्डमा भूमिकास्थान नगरपालिकाले कब्जा जमाएको छ । प्रतियोगिता अन्तरगत भलिबल खेल चलिरहेको भए पनि प्राप्त अंकका आधारमा ११ अंक सहित भूमिकास्थानले शिल्ड जित्न सफल भएको हो । रनिङ शिल्ड भूमिकास्थानले जित्दा ९ अंकसहित सन्धिखर्क दोस्रो भएको हो ।
यसअघि फर्जी खेलाडी विवादले प्रतियोगिता करिब २ दिन अवरुद्ध भएको थियो । फर्जी खेलाडी मिसाएको पुष्टि भएपछि ११ अंकसहित भूमिकास्थान भलिबल खेलबाट बाहिरिएको छ भने सन्धिखर्क नगरपालिकाका तर्फबाट १२ पदक प्राप्त भएकोमा पदक जित्ने तीन खेलाडी फर्जी रहेको पुष्टि भएपछि सन्धिखर्कको ९ अंक भएको छ ।
सन्धिखर्कका तिन पदक खोसिएकोमा ८०० मिटर दौड र १ हजार ५ सय मिटर दौड गरी दुई खेलमा दोस्रो भएको शितगंगाको खातामा जाँदा शितगंगाले यी दुईसहित ६ अंक प्राप्त गरेको छ । त्यस्तै चार×चार सय रिले खेलमा सन्धिखर्कका तर्फबाट पदक जितेका खेलाडी फर्जी पुष्टि भएपछि उक्त खेलमा दोस्रो भएको मालारानीले स्वतः पदक प्राप्त गर्दै एक अंक थपेको छ । छत्रदेवले एक अंक प्राप्त गर्दा पाणिनी शून्य अंकका साथ पुछारमा छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij