२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा

बिहिवार , पौष १६, २०७७


दाङ, १६ पुस । 
दाङको लमहीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । बिहीबार समूह चरणको अन्तिम खेलमा प्रदेश १ ले गण्डकी प्रदेशलाई १ सय ४० रनले पराजित गरेसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको हो ।

खेलमा प्रदेश १ ले प्रस्तुत गरेको १ सय ४८ रनको विजयी लक्ष्यलाई पछ्याएको गण्डकीले निकै खराब ब्याटिङ गर्ने क्रममा ८ ओभरमा आफ्नो सबै विकेट गुमाएर मात्र ७ रन बनायो । उसका लागि कुसुम गोदार र सोनिया थापाले २/२ रन बनाउनुबाहेक अन्य खेलाडीले खाता खोल्न समेत सकेनन् ।

बलिङतर्फ प्रदेश १ का लागि संगिता राई एक्लैले ५ विकेट हात पारिन् । आफ्नो स्पेलको ४ ओभर पूरै बलिङ गरेकी उनले मात्र ३ रन खर्चिएर उक्त विकेट लिन सफल भएकी थिइन् । यस्तै शबनम राईले ४ विकेट र अप्सरी बेगमले पनि १ विकेट लिएकी थिइन् । त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभर पूरै खेल्दै मात्र १ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो ।

टिमले विशाल योगफल बनाउने क्रममा उसका लागि ओपनर ब्याटर काजल श्रेष्ठ र रोमा थापाले अर्धशतकीय पारी खेलेका थिए । जस अन्तर्गत अविजित रहेकी काजलले ५७ बलमा ४ चौकासहित ५२ रनको योगदान गरिन् । यस्तै उनलाई साथ दिएकी रोमाले पनि अविजित रहदै ४९ बलमा ८ चौकासहित ५१ रन बनाइन् ।

त्यसअघि ६/४ ओभरमा टिमको स्कोर ३६ रन हुँदा कुसुम गोदारको बलमा आउट हुन् पुगेकी कप्तान रुविना क्षेत्रीले १५ रनको योगदान गरेकी थिइन् ।

अब शनिबार हुने प्रतियोगिताको सेमिफाइनलमा समूह ए को विजेता विभागीय टोली एपीएफले समूह बी को उप–विजेता सुदूर पश्चिमसँग खेल्नेछ । भने अर्को सेमिफाइनल खेलमा समूह बी को विजेता प्रदेश १ ले समूह ए को उप–विजेता लुम्बिनी प्रदेशसंग खेल्नेछ । प्रतियोगिताको फाइनल खेल आइतबार हुनेछ ।

प्रतियोगिताको विजेताले नगद ५ लाख र उप–विजेता टोलीले ३ लाख प्राप्त गर्नेछन् । त्यसै गरी सेमिफाइनलबाट बाहिरिएका दुई टोलीले समान २५ हजार प्राप्त गर्नेछन् । यस्तै विधागततर्फ सर्वोउत्कृष्ट खेलाडीले २१ हजार, उत्कृष्ट ब्याटसम्यानले १० हजार र उत्कृष्ट बलरले ५ हजार प्राप्त गर्नेछन् ।