२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

रामग्राम नगरपालिकाभित्र शहरी विकासका ४ प्रोजेक्टलाई चैत्रमसान्तसम्म सम्पन्न गर्न अल्टिमेटम

शुक्रवार , पौष १७, २०७७

परासी, १७ पुस । 
पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा सञ्चालित सडक र हाटबजारको काम आगामी चैत्र मसान्तभित्र सम्पन्न गर्ने ठेकदार कम्पनीहरुले प्रतिबद्धता जनाएका छन् । राम्रग्राम नगरपालिकाका प्रमुख नरेन्द्र कुमार गुप्ताको संयोजकत्वमा बिहीवार नगरपालिका कार्यालयमा बसेको बैठकमा शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन चितवनद्धारा नगरभित्र सञ्चालित पूर्वाधारका कार्यहरु आगामी चैत्र मसान्तभित्र सम्पन्न गर्ने ठेकेदार कम्पनीले प्रतिवद्धता जनाएका हुन् । 

बैठकमा नगरप्रमुख नरेन्द्र कुमार गुप्ता, प्रमुख प्रशासकीय अधिकृत राजेश पन्थी, शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन प्रमुख प्रकाश आचार्य, साईट ईञ्जिनियर माधव कटवाल, महालक्ष्मी सुनकोशी वल्डवाईज जेभीका प्रतिनिधि भिमराज पन्त, गौरीपार्वती निर्माण सेवा प्रा.लि.का निमित्त प्रतिनिधि सुनिल लामिछाने, पप्पु शिवशक्ति जे.भी.का प्रतिनिधि राममणि बरतौला, रामग्राम नगरपालिकाका ईञ्जिनियर शतिस कुमार गुप्ता, लेखापाल संजय शर्मा लगायतको सहभागिता रहेको थियो । 

बुद्धचोकदेखि निलोगेटसम्म फोरलेन बाटोको ठेक्का महालक्ष्मी सुनकोशी वल्डवाईड जेभी काठमाण्डौले १५ करोड ९७ लाखमा लिइ काम गरिरहेको छ भने झरही खोलादेखि मंझरिया चोक र बाईपास, पोखरापाली पार्कसम्मको बाटोको काम गौरी पार्वती निर्माण सेवा प्रा.लि.ले १६ करोड, ९४लाख ४१ हजार १२२ रुपैयामा काम गरिरहेको छ । त्यस्तै परासीको साप्ताहिक हाटबजार पप्पु शिवशक्ति जे.भी.ले ९ करोड ७० लाखमा काम गरिरहेको छ । 

२ वर्षको म्याद रहेका यी ठेक्काहरु ३ वर्ष बित्न लाग्दा पनि अहिलेसम्म काम पुरा गर्नसकेका छैनन् । पटक–पटक म्याद थप्दै समयमा काम सम्पन्न नगर्ने यी ठेकदार कम्पनीहरुलाई चैत्रमसान्त अन्तिम पटकको लागि म्याद थप गरिने र सो समयभित्र काम सम्पन्न नगरेमा ठेकेदार कम्पनीलाई कालोसुचीमा राखी धरौटी जफत गर्ने र दण्डित समेत गर्ने शहरी विकास डिभिजन प्रमुख प्रकाश आचार्यले बताए । बैठकमा ठेकदार पक्षको प्रतिबद्धता आएपछि उनीहरुको म्याद थपका लागि प्रक्रिया अगाडी बढाइने उनले बताए । 

ठेकेदारले विभिन्न बहाना देखाई प्रोजेक्ट लम्ब्याउने कार्यले नागरिकहरु धुलोदेखि हिलोको समस्या झेल्नुपर्ने र बजार अस्तव्यस्त भएको जनगुनासो बढेपछि नगरप्रमुख गुप्ताले ठेकदारलाई दबाब दिई समयमै काम सम्पन्न गराउन उक्त बैठक बोलाएको बताए । अबका दिनमा विभिन्न बहाना देखाएर काम ढिलाई गरी नगरवासी तथा व्यापारीलाई दुःख दिन नपाउने, काम गर्ने दौरानमा आइपर्ने समस्या समाधानका लागि रामग्राम नगरपालिका पहल गर्न तयार रहेको नगरप्रमुख गुप्ताले विश्वास व्यक्त गरे । उनले ठेकदार कम्पनीहरुलाई समयमै निर्माण कार्यसम्पन्न गर्न आग्रह गर्दै नगरपालिकाबाट प्राविधिक तथा व्यवहारिक सहयोग हुने विश्वास व्यक्त गरे । साथै भइरहेको निर्माण कार्यको अनुगमनमा पनि तिब्रता ल्याउन नगरपालिकाको सम्बन्धित शाखालाई उनले निर्देशन दिए ।नगरप्रमुख गुप्ताले यी प्रोजेक्टहरु सम्पन्न भएपछि नगरपालिकाभित्रका बजारहरुको सुन्दरीकरण हुने र नगरवासीलाई सहजता हुने विश्वास व्यक्त गरे । 

यता ठेकदार कम्पनीहरु कोभिड–१९, बन्दाबन्दी र स्थानीय अवरोधका कारण निर्माण कार्यमा ढिलाई भएको सफाई दिदै आएका छन् । बैठकमा माघको पहिलो सातादेखि बुद्धचोकदेखि निलोगेट र बाइपास, झरही खोलादेखि पुरानो नगरपालिका भवनसम्मको बाटो पिच हुने ठेकदार पक्षबाट प्रतिबद्धता आएको छ र त्यही अनुसार काम पनि हुने विश्वास दिलाएका छन् । यता हाटबजारका भवनहरु रंगरोगन, नाली सफाई, बाटो पिच, रेलिङ्ग समेत हाली माघ मसान्तभित्र हस्तान्तरण गर्ने ठेकेदार कम्पनीका प्रतिनिधि बरतौलाले प्रतिबद्धता जनाए । 

त्यस्तै नगरपालिकाभित्र ५ नमुना बस्तीको पनि काम अन्तिम चरणमा पुगेको र आउँदो चैत्रमसान्तमा पनि पूर्वाधारका काम सम्पन्न गरी हस्तान्तरण गर्ने बताइएको छ । चैत्रमसान्तमा यी सबै प्रोजेक्टहरु फिनिसिङका साथ नगरपालिकालाई हस्तान्तरण हुनेछन् । त्यसपछि यहाँका जनताले धुलो, हिलोको समस्याबाट छुटकारा पाउने नगरपालिकाले विश्वास लिएको छ ।