
सोमवार , फाल्गुण २२, २०७९
भैरहवा, २२ फागुन ।
‘लैंगिक समानताको बलियो आधार, सिर्जनात्मक महिलाको पहुँचको विस्तार’ भन्ने मूल नारासहित ओमसतिया गाउँपालिकामा सोमबार ११३ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिलाका कानूनी अधिकार सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्ने वक्ताहरुले महिला अधिकार कार्यान्वयन गराउन आफ्नै घरदेखि व्यवहार परिवर्तनमा जोड दिएका छन । संविधानले महिला अधिकारहरु कानूनमै सुनिश्चित गरिदिए पनि महिला अधिकारको कुराहरु अझै कार्यान्वयनमा आउन नसकेको बताए ।
कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्रीले हिजोको तुलनामा आजको अवस्थामा धेरै कुराको परिवर्तन आएको बताए । उनले कानूनहरु कार्यान्वयन गर्ने चरणमा रहे पनि अहिले पनि धेरै काम गर्न बाँकी रहेको उनले बताए । अहिले पनि महिलाहरू बोक्सी, बलात्कार, छाउपडी लगायतको समस्यामा रहेको बताउँदै यसको निरकरणमा महिला पुरुष उत्तिकै जिम्मेवार हुनुपर्ने जिकिर गरे । पराम्पराका नाममा महिला माथि अझै पनि धेरै हिंसा भइरहेको र परिवर्तन तुरुन्तै नहुने भएकोले आवश्यकता अनुसार यसलाई सुधार गर्दै लैजानुपर्ने उनले बताए ।
त्यस्तै गाउँपालिका अध्यक्ष मन्जित कुमार यादवले गाउँपालिकामा महिला पुरुषमा कुनै प्रकारको विभेद हुन नदिने प्रतिवद्धता गरे । उनले महिलालाई सशक्त रूपमा अघि बढ्न आह्वान गरे । महिला अघि नबढेसम्म देश विकास हुन नसक्ने भन्दै उनले घरबाहिरको भूमिकामा सक्रिय हुन आग्रह गरे ।
त्यस्तै गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीले ८ मार्चमा पर्ने अन्तर्राष्ट्रिय महिला दिवसको बारेमा महिलालाई बुझाउन नसकिएको बताइन् । उनले सोचमा परिवर्तन नआएसम्म समतामूलक समाज बन्न नसक्ने बताइन् । उनले घरबाहिर ननिस्केका महिलालाई बाहिर ल्याउन सक्नु पनि परिवर्तन भएको बताइन् ।
गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीको अध्यक्षता, गाउँपालिका अध्यक्ष मन्जित कुमार यादव (सोनु) को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष मदन प्रसाद पोख्रेल, गाउँपालिकाका शिक्षा शाखा प्रमुख हरि प्रसाद पोख्रेल, करुवानी मावि कि प्रअ रमा अर्याल, आगमन सहकारीकी सीता सुनार, पौरखी सहकारीकी पुनम चौधरी लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन महिला बालबालिका शाखाकी निर्मला पाण्डेले गरेकी थिइन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij