२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

‘अस्थिरता निम्त्याउन खोज्नेहरुका कारण विभाजन’

शुक्रवार , पौष १७, २०७७

तिलोत्तमा, १७ पुस । 
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले मुलुकमा अस्थिरता निम्त्याउन चाहने केही नेताहरुको सत्ता स्वार्थका कारण पार्टीमा विभाजन  आएको बताएका छन् । उनीहरुले प्रधानमन्त्रीलाई चारैतिरबाट घेराबन्दी गर्ने र हरेक ठाउँमा भागबण्डा खोज्ने प्रवृत्तिका कारण मुलुकलाई अप्ठेरो अवस्थाबाट जोगाउन प्रतिनिधिसभा विघटन भएको र यो संवैधानिक रहेको दावी पनि गरेका छन् ।

नेकपा तिलोत्तमा नगर कमिटीको विस्तारित बैठक एवं भेलालाई सम्बोधन गर्दै केपी ओली समूहका नेताहरुले जनताविरुद्धका एजेण्डा लिएर आफ्नै दुईतिहाईको सरकारलाई ढाल्न खोजिएको भन्दै अब यो प्रवृत्तिका विरुद्ध एकतावद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

बैठकलाई सम्बोधन गर्दै नेकपा स्थायी समिति सदस्य तथा पूर्व कृषिमन्त्री छविलाल विश्वकर्माले देशमा स्थिरता र स्थायित्व कायम गर्न सरकारले प्रतिनिधिसभा विघटन गरेर जनतामा जाने निर्णय लिएको बताए । ‘पार्टीका केही नेताहरुले नीति, सिद्धान्त र विचारको कुरा भन्दा पनि भागवण्डा खोज्ने र प्रधानमन्त्रीलाई कामै गर्न नदिने प्रवृत्ति देखियो, यसखाले अस्थिरताको अन्त्यका लागि सरकारले प्रतिनिधिसभा विघटन गरी ताजा जनादेशमा जाने निर्णय लएको हो’–उनले भने ।

सरकारमा सहभागी मन्त्रीहरु प्रधानमन्त्रीप्रति उत्तरदायी हुनुपर्नेमा अलग अलग ठाउँबाट निर्देशित हुने र गुटगत भेलाको निर्णयलाई पार्टीको बैठकमा अनुमोदन गराउन खोज्ने प्रवृत्तिले पार्टीमा विभाजन आएको उनको विश्लेषण छ ।

भेलालाई संबोधन गर्दै नेकपा केन्द्रीय सदस्य, रुपन्देही इञ्चार्ज एवं लुम्बिनी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले सरकारले संसद् विघटन गरेर मध्यावधि चुनावमा जाने निर्णय गरेसंगै यो कदम संवैधानिक हो वा असंवैधानिक हो भन्ने विषयमा निकै ठूलो बहस भइरहेको तर सरकारले अग्रगामी कदम चालेको बताए । 

देशलाई फेरि स्थायित्वमा ल्याउनको निम्ति र फेरि कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न यो अपरिहार्य रहेको पनि उनको भनाइ छ । उनले देशमा स्थिरता नचाहने पक्षले संसद् पुनस्र्थापनाको माग गर्दै आन्दोलन गरिरहेको पनि बताए ।

पार्टीका अर्का केन्द्रीय सदस्य एवं रुपन्देही सह–इन्चार्ज दधिराम न्यौपाने (माधव शर्मा) ले पार्टीभित्र प्रधानमन्त्रीलाई घेराबन्दी गर्ने र भागवन्डा खोज्ने प्रवृत्ति नै नेकपा विभाजनको मुख्य कारण रहेको बताए । पुर्व माओवादीका नेता समेत रहेका शर्माले पार्टीभित्रका दुई प्रवृत्ति लड्दा ओलीको जित भएको र हार्नेहरु सडकमा आएर तमासा देखाएको बताए । ‘आफ्नै दुईतिहाईको सरकारका प्रधानमन्त्रीलाई अध्यक्ष र प्रधानमन्त्रीबाट अपदस्थ गर्ने केही नेताहरुको योजना थियो, त्यो योजना सफल नभएपछि बाध्य भएर सडकमा आएका हुन्’–उनले भने ।

नेकपा रुपन्देही जिल्ला अध्यक्ष शिवराज सुवेदीले नेकपा विभाजन विद्रोह नभएर बिग्रह आएको भन्दै बिग्रहलाई साथ दिन नसकिने बताए । पार्टीका केन्द्रीय सदस्य पुरन गुरुङले पार्टीमा निर्वाचन पद्धति नअँगालीकनै अध्यक्ष बन्न खोज्नु नै समस्याको कारण रहेको बताए ।

नेकपा तिलोत्तमा नगर कमिटीका अध्यक्ष मोहन चापागाईंको अध्यक्षतामा भएको भेलामा ज्येष्ठ कम्युनिष्ट मन्चका प्रदेश अध्यक्ष अर्जुन ज्ञवाली, नेकपा जिल्ला कमिटी सदस्य वेद गिरी, तिलोत्तमा नगर कमिटीका मिनप्रसाद पोखरेल लगायतले पनि बोलेका थिए ।