२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

रोहिणीमा मनाइयो ११३ औं अन्तर्राष्ट्रिय महिला दिवस 

बुधवार , फाल्गुण २४, २०७९

भैरहवा, २४ फागुन ।
रुपन्देहीको रोहिणी गाउँपालिकाले ११३ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ । दिवसको अवसर पारेर रोहिणी–३ स्थित धकधईमा बुधबार सचेतनामूलक र्‍याली निकालिएको छ। धकधई चोकबाट निकालिएको र्‍याली विभिन्न स्थानको परिक्रमा गरी श्री रामनरेश यादव आदर्श नमूना माध्यमिक विद्यालय जाने गेट अगाडी पुगेर कार्यक्रममा परिणत भएको थियो । 

कार्यक्रममा बोल्दै रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले अशिक्षाका कारण महिलामाथि विभेद हुने गरेको बताए । उनले दाइजो प्रथाका कारण पनि महिला पीडित भएको बताए । उनले भने,‘ नेपालको राष्ट्रपति विद्यादेवी भण्डारी बन्नुभयो । त्यसै गरी महिलाहरु नेतृत्व तहमा पुग्नुपर्छ ।’ अध्यक्ष यादवले आफूले पाउनुपर्ने अधिकार नपाए खोसेर लिनुपर्ने बताए । उनले भने, ‘आफ्नो अधिकारको लागि लड्नुपर्छ । ’

महिलामाथि हुने विभेद अन्त्य नभएसम्म समाजको विकास हुन नसक्ने उनको भनाइ छ । परिवारमा छोराछोरीबीच विभेद गर्न नहुने उनले बताए । महिलालाई अगाडि बढाउन रोहिणी गाउँपालिकाले सहयोग गर्ने उनले प्रतिवद्धता व्यक्त गरे । संविधानमा भएका अधिकार कार्यान्यवन हुनुपर्नेमा उनले जोड दिए ।

गाउँपालिकाकी उपाध्यक्ष शिवकान्ति हरिजनले महिला हिंसा अन्त्य गर्न हिंसाविरुद्ध एकजुट भएर अघि बढ्नुपर्ने बताइन् । उनले महिलामाथि हुने विभेदको अन्त्य हुनुपर्ने बताइन् । उपाध्यक्ष हरिजनले भनिन्, ‘भेदभाव गर्नुहुँदैन । शिक्षामा समानता आवश्यक छ । ‘ उनले शिक्षामा लगानी गर्नुपर्ने र महिला शिक्षित भए समाजको विकासमा टेवा पुग्ने बताइन् ।

कार्यक्रममा शुभ अवसर ग्राम नेपालका परियोजना संयोजक सत्यनारायण यादव, समाजसेवी हरिद्वार हरिजन, रामकेवल प्रसाद विन्द, सरस्वती विश्वकर्मा, पदमा थापा लगायतले बोल्दै महिलाको अधिकार नारामा मात्र सीमित गर्न नहुने बताए । उनीहरुले महिला र पुरुष साइकलका दुई पांग्रा भएकाले दुवैलाई समान अधिकार दिनुपर्नेमा जोड दिए ।

किशोरी अधिकार मञ्च रुपन्देहीकी पूजा गुप्ताको स्वागत तथा रोहिणी गाउँपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख जमुना शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, प्रहरी, विभिन्न संघ–संस्थाको प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

रोहिणी गाउँपालिकाको आयोजना तथा ओरेक, नेपाल र किशोरी अधिकार मञ्च रुपन्देहीको सहयोगमा भएको कार्यक्रममा शुभ अवसर ग्राम नेपाल, श्री किसान सामुदायिक सिकाई केन्द्र, श्री जन जागृति सामुदायिक सिकाई केन्द्रको उपस्थिति रहेको थियो ।

IMG_0661.JPG
IMG_0705.JPG
IMG_0744.JPG
IMG_0737.JPG
IMG_0722.JPG
IMG_0699.JPG
IMG_0711.JPG
IMG_0692.JPG
IMG_0691.JPG

‘लैंगिक समानताको लागि बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिलाको पहुँचको विस्तार’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी ११३ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ ।