
बुधवार , फाल्गुण २४, २०७९
भैरहवा, २४ फागुन ।
नेतृत्वमा पुग्न महिला सहभागीता बढाउनुपर्ने र महिला स्वयं आफै अग्रसर पनि हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । ११३ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा बुधबार सिद्धार्थनगर नगरपालिकाद्वारा भैरहवामा आयोजित कार्यक्रममा बोल्ने सरोकारवाला र महिला अगुवाहरुले संविधानले दिएको अधिकारको पूर्ण प्रयोग गर्दै नेतृत्व तहमा महिलालाई पुर्याउन घरपरिवारदेखि सबै तह र तप्काका निकाय लाग्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै नगरप्रमुख इश्तियाक अहमद खानले सबै मिलेर महिलाको हकअधिकारलाई सुनिश्चित गर्नुपर्ने धारणा राखे । ‘संविधान प्रदत अधिकार महिलालाई दिन सक्नुपर्छ । महिलाहरुले पनि आफ्नो अधिकार प्राप्तिमा दरिलो तरिकाले लाग्नुपर्छ । सबै ठाउँमा नेतृत्व लिन अग्रसर हुनुपर्छ’, उनले भने, ‘त्यसका लागि राज्यका सबै निकाय तहहरुले सहयोगी भूमिका खेल्नुपर्छ ।’
उनले आज महिला दिवस मनाउन थालेको १ सय १३ वर्षसम्म पनि महिलाले अधिकार माग्नुपर्ने अवस्था राम्रो नभएको जनाए । ‘यत्तिका वर्ष महिला अधिकारका कुरा मात्रै हुनु ठीक होइन्, महिलाले अधिकार नमागिकन उनीहरुलाई सबै ठाउँमा अधिकार सुनिश्चित गरिनुपर्ने हो’, उनले भने, ‘आजसम्म हामी कहाँ चुक्यौं अब समीक्षा गरेर हरेक नेपाली महिला दिदीबहिनीलाई प्रत्येक ठाउँमा समान अधिकार दिनुपर्छ ।’
उनले अझै पनि समाजमा छोरीप्रति हेर्ने दृष्टिकोण परिवर्तन नभएको बताए । ‘छोरी जन्मनु शौभाग्य हो । छोरीले समाज र परिवारलाई जोड्छ । महिला महान हुन्, महिलाको भूमिका पुरुषले निभाउन सक्दैन’, उनले भने, ‘त्यसैले महिलालाई अधिकार र सम्मान जरुरी हुन्छ । संसारकै महान व्यक्ति भनेका नै महिला हुन् । महान व्यक्तिलाई महिलाले नै जन्माएका हुन् ।’ उनले बुहारीलाई छोरी सरह सम्मान गर्नुपर्नेमा जोड दिए । लैंगिक समानता कायम गर्दै एकअर्कालाई सम्मान गर्नुपर्ने बताउँदै नगरप्रमुख खानले नगरपालिकाले महिलाको सम्मानमा सधै साथ र सहयोग गर्ने प्रतिबद्धता जनाए ।
नगर उपप्रमुख उमा अधिकारीले हरेक क्षेत्रमा ३३ प्रतिशत महिला सहभागीता कुरा गरिँदै आए पनि त्यसले सार्थकता पाउन नसकेको बताइन् । ‘अन्तका के कुरा सिद्धार्थनगरमा पनि महिलालाई अझै स्वतन्त्रता छैन, समान सहभागिता छैन’, उनले भनिन्, ‘जहाँ जाँदा र जे काम गर्दा पनि परिवारलाई सोधेर जानुपर्ने अवस्था छ । अब महिलाहरु नेतृत्व लिने र नेतृत्व तहमा पुग्नका लागि प्रयास गरौं ।’
उनले समग्र महिलाहरु नेतृत्व तहमा जबसम्म पुग्दैनन्, तबसम्म उनीहरुका माग सम्बोधन नहुने बताइन् । ‘नेतृत्व तहमा पुग्नुपर्छ । सहभागिता मात्र नभइ नेतृत्वले परिवर्तन हुन्छ’, उनले भनिन् । अधिकारीले ३० वर्षसम्म विहे नगरे समाजले अनेक कुरा काट्ने नगरेको जनाउँदै महिलाप्रतिको सोचमा परिवर्तनमा जरुरी रहेको जनाइन् । उनले अधिकारको लडाई नलडी नपाइने बताउँदै नेतृत्वमा कोही अग्रसर हुन्छ भने पुरुषलाई सोध्ने चलन हटाउनु पर्नेमा जोड दिइन् ।
‘हकका लागि जबसम्म महिललाई पठाइँदैन तबसम्म परिवर्तन हुँदैन । परिवर्तनका लागि सोचमा परिवर्तन आवश्यक । त्यसपछि व्यहारमा, त्यसपछि अधिकारको लागि लडौँ’, उनले भनिन्, ‘राज्यले सेवासुविधा दिए पनि त्यसको खोज गरी उपभोग नगर्नु कमजोरी हो ।’ उनले महिला अधिकारका लागि सिद्धार्थनगरको टीममा एकता भएको जनाइन् । तर, पनि महिलाहरु अग्रसर नहुँदा नेतृत्व तहमा पुग्न नसकेको उनको भनाइ छ । ‘नगरपालिकाले के गर्दिनुपर्यो, त्यो भन्नुपर्यो’, उनले भनिन्, ‘त्यसका लागि हामी तयार छौं । आफ्नो अधिकारका लागि आउनुस् । शिक्षाको आवश्यकता पनि छ । पद्धति परिवर्तनको पनि आवश्यकता ।’
अधिवक्ता एवं नगरपालिकाको मेलमिलापकर्ता रीता खनालले मेलमिलापको सिद्धान्त भनेको दुवै पक्षको जीतजीत नै भएको बताइन् । ‘दुवै पक्षलाई जीतको अनुभूतित गराउनुपर्छ’, उनले भनिन्, ‘यही सिद्धान्तअनुसार हामीले काम गरिरहेका छौं ।’ उनले नगरभित्रका सबै नागरिकलाई न्यायिक समितिबाट निःशुल्क मेलमिलाप हुन्छ भन्ने थाहा नभएको जनाउँदै यसबारे धेरैलाई जानकारी दिन जरुरी रहेको बताइन् । उनले महिलाहरु आफ्नो हकअधिकारका बारेमा बोल्न सक्नुपर्ने बताइन् । ‘धेरै महिला योग्य हुँदाहुँदै पनि बोल्न सक्नुभएको छैन, बोल्न जरुरी छ’, उनले भनिन्, ‘बोलौं समस्या समाधान हुन्छ र गर्नुपर्छ । हिंसा लुकाएर बस्नुहुँदैन । महिलाले आफूबारे सकारात्मक सोच राख्नुपर्छ । सबल र सक्षम छु भन्नुपर्छ ।’
सिद्धार्थनगर नगरपालिकाका लेखा अधिकृत ओमेश कुमार गैरेले महिलालाई सामाजिक लाभ र मुलुकको शासन प्रशासनमा सहभागी हुन प्रेरित गर्नुपर्नेमा जोड दिए ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीकी नवनिर्वाचित कार्यसमिति सदस्य एवं महिला उद्यमी विष्णुमाया शर्मा पौडेलले नारी एकदिन मात्रै नभई हरेक दिन खास भएको बताइन । ‘दिवसमा मात्रै हकअधिकारका कुरा गरिन्छ, तर नारीले सबै हकअधिकार पाउनुपर्छ, हरेक दिन नारी खास हुन भन्ने बिर्सिनु हुँदैन’, उनले भनिन् । उनले अहिले हरेक क्षेत्रमा नारी अघि बढिरहे पनि हिंसा भने नरोकिएको बताइन् । यसलाई रोक्नुतर्फ सबै लाग्नुपर्नेमा उनको जोड छ ।
बेलहिया माध्यमिक विद्यालयकी प्रधानाध्यापक विना भण्डारी पाठकले परिवारबाटै ब्याकफोर्स गरेर धेरै महिला अघि बढेको जनाइन् । ‘नारी दिवस मनाइरहँदा नारीको सफलता अघि पुरुषको पनि त्यतिकै हात रहेको कुरा बिर्सिन हुँदैन’, उनले भनिन्, ‘सबै नारीहरु योग्य छन्, कुनै न कुनै ठाउँमा । शक्ति अरुले भरिदिएर हुँदैन, महिला आफैमा शक्ति छ । यसलाई अझै बलियो बनाउनुपर्छ ।’
सक्षम सहारा बहुउद्देश्यीय महिला समूहकी अध्इक्ष शान्ता कंडेलले महिलालाई हरेक क्षेत्रमा समान व्यवहार हुनुपर्ने बताइन् । उनले समान कामका लागि समान ज्याल पाउनुपर्नेमा जोड दिइन् ।
दिवसको अवसरमा यसअघि भैरहवाको बुद्धचोकबाट र्यालीसहित प्रभातफेरि निकालिएको थियो । र्यालीमा जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी, संघ–संस्थाका प्रमुख तथा प्रतिनिधि, महिला सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो । र्याली बुद्धचोकबाट नारायणस्थान, प्रहरीटोल, मिलनचोक हुँदै भैरहवा नमूना माविमा पुगेको थियो । यस वर्ष ‘लैंगिक समानताको बलियो आधार : सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने नारासहित महिला दिवस मनाइएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij