
मंगलवार , फाल्गुण ३०, २०७९
नेपालगंज, ३० फागुन ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले भ्रष्टाचार र विदेशी हस्तक्षेपको अन्त्य, सनातन धर्म संस्कृतिको रक्षा र राजनीतिमा कायम सिण्डिकेटतन्त्रको अन्त्यका निमित्त सम्पूर्ण राष्ट्रवादी शक्तिहरु एक ठाउँमा उभिन आह्वान गरेका छन् ।
मंगलबार नेपालगन्जमा आयोजित पार्टीका अगुवा कार्यकर्ता भेटघाट एवं पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थापाले भने, ‘राजनीतिक दलका नेता र शक्ति केन्द्रहरूलाई म विनम्रतापूर्वक सम्झाउन चाहन्छु कि जनता तपाईहरुको कमारा वा दास होइनन्, अहिले जनतालाई तन्त्रमन्त्र वा वादविवाद होइन शान्ति र स्थिरता चहिएको छ, विकास चाहिएको छ, रोजगारी चाहिएको छ, गरी खाने वातावरण चाहिएको छ ।’
उनले गणतन्त्रले जनताको जीवनस्तरमा परिवर्तन ल्याउन सकेन भने जनता विकल्प खोज्न बाध्य हुने समेत बताए । राप्रपा नेपालले आगामी दिनमा संगठन निर्माण र जनसंघर्षलाई सँगसँगै लैजाने योजना रहेको भन्दै थापाले देशको प्रत्येक वडा तहसम्म संगठन विस्तार गर्ने तथा २०८० साल फागुन ७ गतेदेखि काठमाडौंमा पार्टीको केन्द्रीय महाधिवेशन गर्ने लक्ष्यका साथ राप्रपा नेपाल अघि बढिरहेको स्पष्ट पारे ।
सर्वसाधारण जनताले सामान्य रोगको उपचार पाउन सकेका छैनन् तर नेताहरुले औषधोपचारको नाउँमा करोडौं रुपैयाँ राज्य कोषबाट पैसा लुटिरहेको भन्दै थापाले एनसेल कर छरी प्रकरण, सार्वजनिक जग्गा अतिक्रमण काण्ड, वाइडबडि हवाईजहाज काण्ड, ३८ क्वीन्टल सुन तस्करी काण्ड, नेपाल ट्रष्टको जग्गा ठगी काण्ड, लडाकुहरूको भत्ता चोरी काण्ड, कोभिडको बेला भएको औषधि खरिद र खोप वेपत्ता काण्डहरुको छानबीन गरी दोषीलाई कडा कारवाही गर्न समेत उनले माग गरे ।
संक्रमणकालिन न्यायको नाममा गम्भिीर अपराधमा संलग्न व्यक्तिलाई उन्मुक्ति दिन नमिल्ने भन्दै उनले चाहे माओवादीबाट होस् वा राज्यपक्षबाट होस् निर्दोष र निहत्था जनताको हत्यामा संलग्नहरुलाई उन्मुक्ति दिने गरी कानून नबनाउन राजनीतिक दल र सांसदहरुलाई आग्रह समेत गरे ।
अगुवा कार्यकर्ता भेलामा पार्टीका सह–महामन्त्री हिक्मत ढकाल, केन्द्रीय सदस्य लक्ष्मी हमाल, जिल्ला अध्यक्ष दिपेन्द्र बहादुर सिंह, उपाध्यक्षहरु आशा बिष्ट र यज्ञराज घिमिरेले समेत बोलेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij