२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

जागृति सगरमाथा सहकारीको साधारणसभा

आइतवार , पौष १९, २०७७

तिलोत्तमा, १९ पुस ।
हाम्रो जागृति सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड तिलोत्तमा–२ योगीकुटीको प्रथम संयुक्त साधारणसभा शनिबार सम्पन्न भएको छ । जागृति र हाम्रो सगरमाथा सहकारीबीच एकीकरण भइ प्रथम साधारणसभा आयोजना गरिएको हो ।साधारणसभामा बोल्ने वक्ताहरुले दुई संस्थाको एकीकरणपछि सहकारी बलियो संस्थाको रुपमा स्थापित भएको भन्दै सहकारी ऐन नियममा टेकेर संस्थालाई प्रभावकारी ढंगले अघि बढाउन सुझाव दिएका छन् । 

कार्यक्रममा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष गुरुप्रसाद पौडेलले संस्था एकीकरणपछि कुल शेयर सदस्य संख्या १ हजार ७१६ र शेयर पुँजी ३ करोड ४६ लाख ९८ हजार ७ सय रुपैयाँ पुगेको जानकारी दिए । संस्थाले हालसम्म झण्डै १७ करोड निक्षेप संकलन गरेको उनले जानकारी दिए । अध्यक्ष पौडेलले संस्थाले चालु वर्ष २०७७/७८ मा सहकारी शिक्षा सम्बन्धी तालिम प्रदान गर्ने, आर्थिक वर्षको अन्त्यमा शेयर सदस्य संख्या १५ प्रतिशत वृद्धि गर्ने, शेयर सदस्यभित्र सुत्केरी स्याहार तथा पोषण कार्यक्रम सञ्चालन गर्ने, शेयर सदस्यको पाँच लाखको दुर्घटना बिमा लागू गर्ने योजना प्रस्तुत गरे ।

त्यस्तै उनले शेयर सदस्यलाई जटिल खालको क्यान्सर, मुटु, मृगौला सम्बन्धी रोग लागेमा मापदण्ड बनाइ ३५ हजार बराबर सहयोग गर्ने, स्वरोजगारमुलक तालिमका प्याकेज सञ्चालन गर्ने, सहकारी एपसहितको आधुनिक सफ्टवेयर जडान गर्ने, समान प्रकृतिका सहकारी संस्थाहरुसँग एकीकरण खुला गर्ने प्रस्ताव पनि गरे ।

साधारणसभामा कोषाध्यक्ष तोलाकान्त डुम्रेले चालु आर्थिक वर्षका लागि २ करोड ७४ लाख ८१ हजार रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गरेका थिए भने लेखा सुपरिवेक्षण समितिका संयोजक विष्णुप्रसाद गैरेले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारणसभाले तीनवटै प्रस्ताव पारित गरेको छ ।

कार्यक्रममा संस्थाका सल्लाहकार टेकबहादुर थापा, बेलप्रसाद शर्मा, उपाध्यक्ष होमप्रसाद शर्मा, सचिव खेमराज खनाल, शेयर सदस्य रामचन्द्र ज्ञवाली, शोभा पाण्डे लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमका अवसरमा सामुदायिक विद्यालयतर्फ एसईईमा सर्वोत्कृष्ट अंक ल्याउने शेयर सदस्य टंकप्रसाद पौडेल र गीता पौडेलकी छोरी स्नेहा पौडेल तथा संस्थागत विद्यालयतर्फ शेयर सदस्य सरस्वती पाण्डेकी छोरी प्रशंसा पाण्डेलाई पुरस्कृत गरिएको थियो । त्यस्तै असल ऋणितर्फ तिलोत्तमा–४ का यमबहादुर थापा र तिलोत्तमा–३ कि कमला कुमारी रानालाई पनि सम्मान गरिएको थियो ।