२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

रूपन्देही सुपर लिगको उपाधि वेष्टर्न क्रिकेट क्लबलाई

शनिवार , चैत्र ४, २०७९

भैरहवा, ४ चैत ।
नेपाल टेलिकम रुपन्देही सुपर लिगको उपाधि बीएम डब्लु वेष्टर्न क्रिकेट क्लब, बुटवलले जितेको छ । शनिबार भैरहवामा सम्पन्न फाइनल खेलमा लुम्बिनी खुकुरी क्लबमाथि ५२ रनको जीत निकाल्दै वेष्टर्नले उपाधि चुम्न सफल भएको हो । खुकुरीले उपविजेतामा चित्त बुझायो ।

उपाधिसँगै वेष्टर्नले १ लाख रुपैयाँ र ट्रफी हात पारेको छ । उपविजेतामा चित्त बुझाएको लुम्बिनी खुकुरीले ५० हजार र ट्रफी प्राप्त गर्यो । सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको वेष्टर्नले मौसमका कारण ३६ ओभरमा झारिएको खेलमा २२.३ ओभरमा खेल्दै सबै विकेट गुमाएर जम्मा ९४ रनको झिनो योगफल बनाएको थियो । उसका लागि अनिलकुमार साहले २६, अनिल खरेलले २४ र देव खनालले २३ रन बनाए । बलिङमा लुम्बिनी खुकुरीका साहव आलमले ५.३ ओभरमा १ मेर्डनसहित १७ रन खर्चेर ६ विकेट लिए । यस्तै, इकलाख वारिसले १ विकेट लिए ।

प्रतिउत्तरमा ९५ रनको झिनो लक्ष्य पछ्याएको लुम्बिनी खुकुरी २०.१ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ५२ रनमै समेटियो र उपविजेतामा चित्त बुझायो । खुकुरीका कुनै पनि खेलाडीले दोहोरो रन जोड्न नसक्दा टीमले सामान्य लक्ष्य भेट्टाउन नसकी हार व्यहोरेको हो । खुकुरीका इकलाख वारिस र संदीप रजालीले सर्वाधिक ८–८ रन बनाए भने प्रज्वल थापाले ७ रन मात्रै जोडे । लुम्बिनी खुकुरीलाई सस्तैमा रोक्न बलिङमा वेष्टर्नकन विष्णु पाण्डेले ४.१ ओभरमा १० रन खर्चिंदै सर्वाधिक ५ विकेट लिए । उनी म्यान अफ द फाइनल भई एक हजार रुपैयाँ प्राप्त गरे । यस्तै, अनिल खरेल र अभिषेक गौतमले समान २–२ तथा देव खनालले १ विकेट लिए ।

प्रतियोगितामा वेष्टर्नका अनिलकुमार साह म्यान अफ द सिरिज भए । उनले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । यस्तै, लुम्बिनी खुकुरीका प्रज्वल थापा वेष्ट ब्याटर र इकलाख वारिस बेष्ट बलर बने भने बुटवल राइनोजका सुन्दर आले उदयीमान खेलाडी घोषित भए । उनीहरुले जनही ५ हजारका दरले पुरस्कार प्राप्त गरे । रुपन्देही क्रिकेट संघको आयोजनामा सञ्चालित सुपर लिगको यो २२ औं संस्करण हो । २०५४ सालदेखि संघले नियमितरुपमा सुपरलिग आयोजना गर्दै आएको छ ।

नेपालमा जिल्लास्तरमा ५० ओभरको सुपर लिग आयोजना हुने रुपन्देही जिल्लामा मात्रै हो । प्रतियोगितामा ए र बी डिभिजनका गरी २० टीमको सहभागिता थियो । विजेता, उपविजेता र उत्कृष्ट खेलाडीहरुलाई नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारी, नेपाल टेलिकमका निर्देशक शैलेश बहादुर अमात्य, क्रिकेट संघका केन्द्रीय सदस्य प्रशान्तविक्रम मल्ल, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, लुम्बिनी प्रेस क्लबका अध्यक्ष सम्झना शर्मालगायतले पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रममा लुम्बिनी प्रेस क्लबका नवनिर्वाचित अध्यक्ष सम्झना शर्मा तथा सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको अध्यक्षमा निर्वाचित ठाकुर कुमार श्रेष्ठलाई सम्मान गरिएको थियो । त्यस्तै प्रतियोगिता अवधिभरी बल स्पोन्सर गर्ने जैसवाल सेवा समिति, रुपन्देहीका अध्यक्ष अमित कुमार गुप्ता, प्रतियोगिताका प्रायोजक, सह-प्रायोजकलाई समेत सम्मान गरिएको थियो ।

प्रतियोगिताको प्रमुख प्रायोजकमा नेपाल टेलिकम तथा संरक्षकमा सिद्धार्थनगर नगरपालिका थिए । प्रतियोगिता विजेता पुरस्कार एभरेस्ट कत्था मिल तथा उपविजेता पुरस्कार रुपन्देही क्रिकेट संघका संस्थापक अध्यक्ष एवं विके ज्वेलर्सका प्रबन्ध निर्देशक प्रेमकुमार सेन्चुरीले सौजन्य गरेका थिए ।