
आइतवार , चैत्र ५, २०७९
भैरहवा, ५ चैत ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य प्रकाश रसाइली ‘स्नेही’ ले अब कांग्रेस आन्तरिक संगठन निर्माणमा लाग्नुपर्ने बताएका छन् । उनले पार्टीको आम कार्यकर्ताको मनोबल र आत्मविश्वासको अभिवृद्धि गर्दै पार्टीभित्र गुटको व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।
कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३, रुपन्देहीले शनिबार भैरहवामा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता रसाइलीले नयाँ पार्टीहरु नयाँ नारा र नेतृत्वका साथ अगाडि बढिरहेकाले यसलाई पनि चुनौति र अवसरको रुपमा लिइ कांग्रेसले पनि अब माथिदेखि तलसम्म नेतृत्वको व्यवस्थापनमा लाग्नुपर्ने बताए ।
कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति सुशील गुरुङको सभापतित्व तथा पार्टीका केन्द्रिय सदस्य तथा संविधानसभा सदस्य प्रकाश रसाइली स्नेहीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कांग्रेसका नेता तथा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापागाई, महाधिवेशन प्रतिनिधि मीना भण्डारी, बसन्तलाल कर्ण, कांग्रेस सिद्धार्थनगरका सभापति कोशिस बहादुर खड्का लगायतले बोलेका थिए ।
कार्यक्रममा महासमिति सदस्य सुर्य नारायण यादव, महाधिवेशन प्रतिनिधि रमा कुमारी खड्का, अनिता कुमारी यादव, क्षेत्र नम्बर ३ (क) प्रदेश उपसभापति गोविन्द बस्याल, प्रदेश सचिव याम बहादुर थापा माइला, क्षेत्रीय सदस्य घनश्याम यादव, पूर्व जिल्ला सदस्य ओम कुमार श्रेष्ठ, सिद्धार्थनगर वडा नम्बर ५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठ, सिद्धार्थनगर–७ का वडा अध्यक्ष दामोदर शर्मा घिमिरे, नगर उपसभापति किरण घिमिरे, नगर सचिव अनिल के.सी., हरिमाया गुरुङ लगायतको उपस्थिति रहेको थियो ।
अन्तरक्रियामा डा.शम्भु कुमार गुप्ता, कांग्रेस सिद्धार्थनगरका उपसभापति देवराज न्यौपाने, क्षेत्रीय सदस्य रुपमाया पुन, सिद्धार्थनगर–१ का पूर्वसभापति रमेश सारु, नगर सदस्य सुरेन्द्र क्षेत्री, वडा नम्बर १ का सचिव माधव शर्मा, क्षेत्रीय प्रतिनिधि कमल भण्डारी, सिद्धार्थनगर–४ का सभापति नरेन्द्र प्रसाद रौनियार, सिद्धार्थनगर–१० का सभापति विजयनाथ धवल, सियारी–३ का सभापति श्रीराम यादवले अब कांग्रेसको भोलिको बाटो, संगठन निर्माण, वर्तमान आर्थिक संकट र सरकार निर्माण प्रक्रिया बारेमा बोलेका थिए ।
कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ का सह–सचिव कुल प्रसाद न्यौपानेको स्वागत तथा क्षेत्रीय सचिव लेखनाथ भट्टराईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij