
सोमवार , पौष २०, २०७७
परासी, २० पुस ।
जिल्ला समन्वय समिति नवलपरासीले झरही खोलाबाट अवैध उत्खनन गरिरहेको दुईवटा ट्याक्टर सोमबार नियन्त्रणमा लिएको छ । जिल्लाको पाल्हिनन्दन गाउँपालिका ३ स्थित झरही नदीमा बालुवा भस्कटको चोरी निकासी भइरहेको जनगुनासो बढेपछि समन्वय समितिले अनुगमनको क्रममा बालुवा र भस्कट लोड गरिरहेको दुईवटा ट्याक्टर नियन्त्रणमा लिएको हो ।
जिल्ला समन्वय समिति प्रमुख शिव शंकर रायको नेतृत्वमा अनुगमनमा पुगेका अनुगमन टोलीले नदिमा अवैध उत्खनन गरिरहेका लु ४ त ५०३६ नम्बरको सोनालिका ट्याक्टर र लु ३ त ८३११ नम्बरको पावरट्रेक बालुवा–भस्कट लोडेड ट्रलीसहित नियन्त्रणमा लिइ आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय बुझाइएको समन्वय प्रमुख रायले जानकारी दिए ।
उक्त खोलाको वैधानिक तरिकाबाट ठेक्कापट्टा नभएको र स्थानीय केही व्यवसायीहरु व्यापक रुपमा नदीमा अवैध उत्खनन गरिरहेको पाइएपछि समन्वय समितिले अनुगमनमा तीव्रता दिएको प्रमुख रायले बताए । नियन्त्रणमा लिइएका ट्याक्टरहरुलाइ पाल्हिनन्दन गाउँपालिकाद्वारा निर्धारित जरिवाना तिराउने र बालुवा–भस्कट जफत गर्ने रायले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij