
सोमवार , पौष २०, २०७७
बुटवल, २० पुस ।
लुम्बिनी प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले बजेट र अपनत्व अभावले प्रदेशमा सुरु भएका खानेपानी र सरसफाइका योजना समयमा सम्पन्न गर्न समस्या भएको बताएका छन् ।
संघीय सरकारले योजना हस्तान्तरण गर्ने तर त्यसअनुसारको बजेट विनियोजन नगर्दा योजना अलपत्र परेको र लक्ष्य अनुसार काम गर्न नसकेको उनले बताए । संचारिका समूह लुम्बिनी प्रदेशको समन्वयमा भौतिक पूर्वाधार विकास मन्त्रालयले सोमबार बुटवलमा सुरु गरेको खानेपानी र सरसफाइमा लैंगिकता विषय अन्तरक्रिया एवं समाचार लेखन कार्यशालामा बोल्दै मन्त्री चौधरीले यस्तो बताएका हुन् ।
संघले कम बजेट पठाएकै कारण आगामी २ वर्षभित्र प्रदेशका सबै घरमा खानेपानी पुर्याउने लक्ष्य पूरा गर्न समेत समस्या भएको मन्त्री चौधरीले जानकारी दिए । खानेपानी र सरसफाइका योजना र कार्यक्रम दिगो, भरपर्दो र सबैका लागि बनाउन योजना छनोटदेखि निर्माण र कार्यान्वयन तहसम्म लैंगिकताका विषयलाई ध्यान दिएको मन्त्री चौधरीले बताए । कतै कमजोरी भएको भए पृष्ठपोषण दिने गरी संचारमाध्यमले झकझकाउनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा बोल्दै प्रदेश योजना आयोगका उपाध्यक्ष ईश्वर गौतमले घर र भान्सा धेरै सम्हाल्ने महिला भएका कारण यसमा लैंगिकताको विषय बढी महत्वपूर्ण हुने बताए । प्रदेशको आवधिक योजनामा खानेपानी र सरसफाइलाई महत्वका साथ उठाएको बताउँदै उनले संघको बजेट र स्थानीय तहको प्रतिवद्धता अभावले लक्ष्य अनुसार काम गर्न समस्या भएको बताए ।
भौतिक पुर्वाधार मन्त्रालयका सचिव शुशीलचन्द्र तिवारीले भौतिक पूर्वाधार विकासलाई पनि लैंगिक र सामाजिक समावेशीकरणयुक्त बनाउन अभ्यास थालेको बताए । दिगो विकास लक्ष्यले खानेपानी, सरसफाइ र लैंगिकताको विषयलाई प्राथमिकतामा राखेकाले यो सबैको साझा विषय भएको बताए ।
खानेपानी तथा सरसफाइ महाशाखा प्रमुख ध्रुब धितालले माग र आवश्यकताका आधारमा योजना नबन्दा खानेपानी र सरसफाईमा लैंगिकताको मुद्दा ओझेलमा परेको बताए । पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष भरत केसीले खानेपानी र सरसफाइ व्यक्तिगत स्वस्थताका लागि महत्वपूर्ण भएकाले यसले समाचारमा पनि प्राथमिकता पाउने बताए । संचारिका समूह रुपन्देहीका अध्यक्ष निरु गौतमले सबैको पहुँचमा खानेपानी र सरसफाईका सुचक पु¥याउन सके महिला र बालबालिकाको सुरक्षा र कार्यबोझ घट्ने बताइन् ।
संचारिका समूह लुम्बिनी प्रदेशका महासचिव अमृता अनमोलले प्रदेश सरकारले संचालन गरेका खानेपानी र सरसफाइका योजनालाई लैंगिकमैत्री बनाउन सके प्रदेश सरकारले लक्ष्य लिएको पूर्ण सरसफाई र एक घर एक धाराको योजना पूरा हुने बताइन् । उनले शौचालय र खानेपानीको धारा कहाँ बनाउने, कसरी बनाउने भन्ने निर्णय महिलामा हुने हो भने त्यसले धेरै कार्यबोझ घट्ने र विकास र सुरक्षाका ढोका खुल्ने दावी गरिन् ।
संचारिका समूह लुम्बिनीका अध्यक्ष पार्वती पाण्डेले समाचारमा हरेक विषयमा लैंगिकताको खोजी गर्न आवश्यक भएको बताइन् । संचारिका समूह नेपाल लुम्बिनीको समन्वयमा आयोजित दुईदिने कार्यशालामा प्रदेशका विभिन्न जिल्लाका पत्रकारहरुको सहभागिता छ । कार्यशालामा भौतिक पुर्वाधार विकास मन्त्रालयका खानेपानी तथा सरसफाइ महाशाखा प्रमुख ध्रुव धिताल, लुम्बिनी प्रादेशिक अस्पतालका बाल रोग विशेषज्ञ डा. नेत्र राना, योजना आयोगका सदस्य डा. विष्णु गौतम लगायतले सहजीकरण गरेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij