
मंगलवार , पौष २१, २०७७
बुटवल, २१ पुस ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, चित्रकला विभाग र अरनिको स्मृति प्रतिष्ठान नेपाल रुपन्देहीको आयोजना तथा नेवा पुच नेवा समाज विकास परिषद र नेपाल व्यवसायिक कलाकार संघको सहयोगमा दुईदिने चित्रकला कार्यशाला गोष्ठी तथा रुपन्देही कला महोत्सव २०७७ रुपन्देहीमा सुरु भएको छ ।
कार्यशालाको मंगलबार एक समारोहकाबीच समाजसेवी तथा जनप्रतिनिधि ज्ञानु लिगलले उद्घाटन गर्दै नेवारी कला र संस्कृति जगाउँदै पर्यटनसंग जोडेर लैजानुपर्ने सुझाव दिइन् ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, चित्रकला विभाग परिषदका सदस्य तथा चित्रकला विभागका प्रमुख सुष्मा राजभण्डारीले ललित कलालाई विकास गर्ने योजना अनुसार विविध कार्यशालाहरु अघि बढेको बताइन् । सरकारलाई समन्वयको पाठामा संस्थागत रुपमा सहयोगीका रुपमा प्रतिष्ठानले काम गर्दै आएको उनले बताइन् ।
श्री नेवा पुच कार्यालय भवनमा पुस २१ र २२ दुई दिनसम्म संचालन हुने कार्यशालामा कलाकारहरुले नेपाली, नेवारी संस्कृति र परम्परा झल्काउने ३० बढी चित्रहरु बनाउने पुचका अध्यक्ष काजिमान श्रेष्ठले बताए । श्री नेवा पुच नेवा समाज विकास परिषदबाट संस्कृति जगेर्नाका लागि विभिन्न दिवसमा कार्यक्रमहरु गर्दै आएको उनले बताए । वरिष्ठ चित्रकारहरु मन गोल्डी, एचबी रमतेल, लक्ष्मण श्रेष्ठ, सुमित्रा राना, राजकुमार लिगल, शान्ता गिरी, बेनु थापा, विक्रम गुरुङ लगायत करीब ३० जनाले एक्रेलिक रंग र क्यानभास बोर्डमा चित्र कोर्ने उनले बताए ।
यसैबीच पुस २३ गते अरनिको दिवसमा कार्यक्रम गरिने प्रतिष्ठान रुपन्देहीका अध्यक्ष मन गोल्डी, सचिव एचबी रमतेल, नेपाल व्यवसायिक कलाकार संघका अध्यक्ष बेनु थापाले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij