
मंगलवार , पौष २१, २०७७
बुटवल, २१ पुस ।
विश्वव्यापी कोभिड–१९ महामारीले लामो समय गतिविधि सुन्य भएको अवस्थामा सञ्चारकर्मीहरु बीच मैत्रीपुर्ण फुटसल प्रतियोगिता हुने भएको छ । रुपन्देहीका सञ्चारकर्मी र सञ्चारगृहहरुबीच आपसी सद्भाव तथा मैत्री सम्बन्धका लागि ‘प्रथम टेन स्टिल्स फुटसल–२०७७’ आयोजना हुने भएको हो ।
ग्लोबल सञ्चार गृहद्वारा सञ्चालित ग्लोबल आवाजको आयोजनामा आगामी माघ ३ गते रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा मैत्रीपूर्ण प्रतियोगिता हुने भएको हो । कोरोना महामारीकाबीच पनि जोखिम मोल्दै निरन्तर सूचना संकलन गर्ने सञ्चारकर्मीहरुलाई मानसिक र शारीरिक रुपमा स्फूर्त बनाउन टेवा पुग्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको सञ्चार गृहका प्रवन्ध निर्देशक गौतम भुसालले बताए ।
रोटरी क्लब अफ रुपन्देही सह–आयोजक रहेको प्रतियोगितामा टेन स्टिल्स प्रा.लि.को मूख्य प्रायोजन तथा हाई लाइफको सह प्रायोजन रहेको उनले जानकारी गराए । प्रतियोगिताबारे जानकारी गराउन मगलबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बैंकिङ पार्टनर साइन रेसुङ्गा बैंक लिमिटेड तथा मिडिया पार्टनरहरु बुटवल टुडे दैनिक र राज्य टेलिभिजन रहेको जानकारी दिए ।
प्रतियोगिताबारे बोल्दै अनलाइनका सम्पादक एन.बी. कंडेलले महामारीमा सञ्चारकर्मीलाई परेको असरबाट टाढा हुन र जारी समस्या र संकट भन्दा केही फरक तथा मनोरञ्जनका गतिविधिमा संलग्न हुनका लागि प्रतियोगिताले टेवा पुर्याउने विश्वासमा प्रतियोगिताको आयोजना गरिएको बताए । ‘प्रतियोगिताले लामो समयपछि सञ्चारकर्मीलाई एउटै ठाउँमा भेला गराउनुका साथै आपसी एकता र सद्भाव बढाउनेमा आशा गरेका छौं ।’–उनले भने ।
कार्यक्रममा सह–प्रायोजक हाइ लाईफ फुड्सका अध्यक्ष पंकज ज्ञवाली, रोटरी क्लब अफ रुपन्देहीका निर्वतमान अध्यक्ष सुरज खत्री, ग्लोबल मिडिया ग्रुपका एचआर तथा पिआर प्रमुख प्रदिप नेपाल, मिडिया पार्टनर बुटवल टुडे दैनिकका विश्वास ढकाल र राज्य टेलिभिजनका यमलाल भुुसालले सुझाब सहितको भनाई राखेका थिए ।
जिल्लाभरका विभिन्न सञ्चार गृहमा आवद्ध तथा जिल्लामा क्रियासिल सञ्चारकर्मीहरुबीच हुने प्रतियोगितामा २० वटा टिमको सहभागिता रहने अपेक्षा गरिएको कार्यक्रम संयोजक डि.बी. सुस्लिङले बताए । प्रतियोगितामा विजेता टिमले नगद पुरस्कार १५ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसै गरी उपविजेताले १० हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
विधागत रुपमा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट गोल रक्षकलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ । तिलोत्तमा–५ मा अवस्थित यूनिक फुटसलमा हुने प्रतियोगिताका लागि करिब ४ लाख खर्च अनुमान गरिएको उनले बताए । प्रतियोगिताको राज्य टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ । कार्यक्रमको संचालन पत्रकार सञ्जु पौडेलले गरेकी थिइन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij