२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

सिद्धार्थनगरमा बुधबारदेखि नगरस्तरीय मेयर कप क्रिकेट प्रतियोगिता हुने

शनिवार , चैत्र १८, २०७९

भैरहवा, १८ चैत । 
सिद्धार्थनगर नगरपालिका, रुपन्देहीको आयोजनामा आगामी चैत २२ गते बुधबारदेखि सिद्धार्थनगर (भैरहवा) मा नगरस्तरीय मेयर कप क्रिकेट प्रतियोगिता हुने भएको छ । नगरपालिकाले शुक्रबार भैरहवामा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालकाअनुसार टी ट्वाईन्टी फर्मेटमा खेलाइने उक्त प्रतियोगितामा नगरका १३ वटै वडाका टीमहरुले सहभागी हुनेछन् । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा सञ्चालन हुने प्रतियोगितामा प्रथम हुनेलाई नगद रु. ५१ हजारसहित कप, मेडल र प्रमाणपत्र र दोस्रो हुनेलाई रु. २५ हजार ५ सयसहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिने पौडयालले बताए ।

त्यस्तै प्रतियोगिताको म्यान अफ द सिरिजले रु. ११ हजारसहित ट्रफी र मेडल, उत्कृष्ट बलर र ब्याट्सम्यानले रु. ५/५ हजारसहित ट्रफी र मेडल  तथा प्रत्येक खेलमा १ जना म्यान अफ द म्याचलाई नगद रु. १ हजार रुपैया र ट्रफी प्रदान गरिने उनले जानकारी दिए । प्रतियोगिताको आकर्षणको रुपमा ह्याट्रिक विकेट र छक्का हान्ने खेलाडीलाई पनि १ हजार १ सय रुपैयाँको दरले पुरस्कृत गरिने पौड्यालले बताए । पौड्यालकाअनुसार सिद्धार्थनगर नगरपालिकामा स्थायी ठेगाना भएका खेलाडीहरुको समूह दर्ताका लागि एक वडा एक समूहलाई प्रतियोगितामा समावेश गरिनेछ । उनले भने, ‘समूह दर्ताका लागि कुनै शुल्क लाग्ने छैन । प्रत्येक वडाबाट १÷१ समूह रहनेछ र हरेक समूहमा १४ जना खेलाडी र १/१ जना टीम कोच र टीम म्यानेजर रहनेछन् ।’

यसअघि पनि मेयर कप हुँदै आए पनि कोभिड–१९ का कारण केही वर्षदेखि प्रतियोगिता हुन नसकिरहेको र सोही प्रतियोगितालाई अहिले निरन्तरता दिइएको नगरप्रमुख इस्तियाक अहमद खानले बताए । नगरस्तरमा क्रिकेटका खेलाडी उत्पादन गर्ने उद्देश्यले मेयर कप क्रिकेट प्रतियोगिता आयोजना गरिएको नगरप्रमुख खानले बताए । उनले सम्पूर्ण वडाको प्रतिनिधित्व हुने गरी प्रतियोगिताको आयोजना गरिएको बताए । 

नगर उपप्रमुख उमा अधिकारीले प्रतियोगिताले नयाँ खेलाडी उत्पादन गर्न सहयोग पुर्याउने बताइन् । उनले आगामी दिनमा महिला खेलाडीहरुको प्रोत्साहनका लागि विद्यालयस्तरीय उपमेयर कपको पनि आयोजना गर्ने तयारी भइरहेको बताइन् । 

सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठले मेयर कप क्रिकेट प्रतियोगिताले नयाँ खेलाडी उत्पादन गर्न मद्दत गर्ने बताए ।

नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य धर्मराज गिरीले अन्तर्राष्ट्रिय नियमअनुसार नै क्रिकेट प्रतियोगिता सञ्चालन हुने बताए ।

सिद्धार्थनगर नगरपालिकाका प्रशासन शाखा प्रमुख शेखरनाथ पन्थीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।