
बुधवार , चैत्र २२, २०७९
भैरहवा, २२ चैत ।
नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य किस्मत विश्वकर्माले माओवादी केन्द्रको नेतृत्वमा मुलुक समृद्ध बन्ने दावी गरेका छन् । उनले मुलुकको समस्या समाधान गर्न सक्ने योजना र दृष्टिकोण माओवादी केन्द्रसँग मात्र रहेको बताए ।
रुपन्देहीको सम्मरीमाई गाउँपालिका–५ स्थित रोहनिहवामा मंगलबार भएको पार्टीको भेलामा बोल्दै नेता विश्वकर्माले माओवादीको नीतिमा देश अगाडि बढिरहेकोले माओवादीकै नेतृत्वमा नै देशलाई विकास र समृद्धिमा लैजाने बताए । उनले माओवादी केन्द्रको २ महिने संगठन निर्माण र सुदृढीकरणले जनताको समस्या सुन्ने र विकासको गतिविधिमा सहभागी भइ स्थानीय तहमा भएका अनिमितिताको भण्डाफोर गर्ने बताए । केन्द्रीय सदस्य विश्वकर्माले भने, जनता माओवादी केन्द्रमा गोलबन्द हुनुपर्छ । हिमाल, पहाड, तराई–मधेशको भावनात्मक एकतामा जोड दिदै समृद्ध मुलक बनाउनेतर्फ पार्टी अघि बढेको छ । उनले पार्टीको अभियानलाई टोलटोलसम्म लैजान आग्रह गरे ।
माओवादी केन्द्र सम्मरीमाई गाउँपालिकाका अध्यक्ष सवेन्द्र मौर्यको अध्यक्षता, पार्टीका केन्द्रीय सदस्य किस्मत विश्वकर्माको प्रमुख आतिथ्यता, रुपन्देही क्षेत्र नम्बर ४ का इञ्चार्ज गुलाम अली, क्षेत्रीय अध्यक्ष लालमन यादव, गाउँपालिका सदस्य तथा सम्मरीमाई–५ का वडाअध्यक्ष श्रवण यादव लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
बैठकले वैशाख मसान्तसम्म सम्मरीमाई गाउँपालिकाकाको ७ वटै वडा भेला गर्ने, प्रत्येक वडाको टोल समिति गठन गर्ने, पार्टीको जनवर्गीय सगठनको भेला तथा संगठनहरू गठन गर्ने तथा जनताको गुनासो सुन्ने निर्णय गरेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij