
बुधवार , पौष २२, २०७७
बुटवल, २२ पुस ।
रुपन्देहीमा दुई दिने चित्रकला कार्यशाला गोष्ठी सम्पन्न भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, चित्रकला विभाग र अरनिको स्मृति प्रतिष्ठान नेपाल रुपन्देहीको आयोजना तथा नेवा पुच नेवा समाज विकास परिषद र नेपाल व्यवसायिक कलाकार संघको सहयोगमा भएको चित्रकला कार्यशाला गोष्ठी तथा रुपन्देही कला महोत्सव २०७७ मा २८ वटा नेवारी संस्कृति, रहनसहन र चाडपर्व चिनाउने चित्रहरु तैयार भएको छ ।
एक समारोहकाबीच नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, चित्रकला विभाग परिषदका सदस्य तथा चित्रकला विभागका प्रमुख सुश्मा राजभण्डारीले तैयार भएका चित्रहरु नेवा पुच नेवा समाज विकास परिषदका अध्यक्ष काजीमान श्रेष्ठलाई हस्तान्तरण गरेका छन । मोफसलका कलाकारहरुलाई प्रोत्साहन गर्ने लक्ष्यका साथ काठमाडौ बाहिर विभिन्न जिल्लाहरुमा कार्यक्रमहरु गर्दै आएको परिषदका सदस्य राजभण्डारीले बताइन् । नेवा पुचका अध्यक्ष काजिमान श्रेष्ठले नेवा समाज विकास परिषदबाट संस्कृति जगेर्नाका लागि विभिन्न दिवसमा कार्यक्रमहरु गर्दै आएको बताए ।
कार्यक्रममा समाजसेवी तथा जनप्रतिनिधि ज्ञानु लिगल, प्रतिष्ठान रुपन्देहीका अध्यक्ष मन गोल्डी, सचिव एचबी रम्तेल, नेपाल व्यवसायिक कलाकार संघका अध्यक्ष बेनु थापाले आगामि दिनहरुमा सहकार्यमा थप कार्यक्रमहरु गर्ने प्रतिवद्घता जनाए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij