२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

तिलोत्तमामा भूमिसम्बन्धी आयोगको इकाई कार्यालय स्थापना 

बुधवार , पौष २२, २०७७

तिलोत्तमा, २२ पुस । 
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा भूमिसम्बन्धी समस्या समाधान आयोगको लगत संकलन इकाई कार्यालय स्थापना गरिएको छ । आयोगसँग हालै भएको कार्यसम्झौता अनुसार तिलोत्तमाले लगत संकलन इकाइ स्थापना गरेको हो । 

इकाई कार्यालयको बुधबार नगर प्रमुख बासुदेव घिमिरेले शुभारम्भ गरे । तिलोत्तमा नगरस्तरीय भुमिहिन दलित, भुमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी लगत संकलन एवं सहजीकरण समितिको पहिलो बैठकपछि इकाई स्थापना गरिएको हो ।  

नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत एवं राजनीतिक दलका प्रमुख र सदस्य लगायत सहभागी समितिको बैठकले इकाईमा रहने प्राविधिक तथा अन्य १६ जना कर्मचारीहरुको व्यबस्थापन गर्नेलगायतका निर्णय गरेको प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिए । उनका अनुसार बैठकले अनुसूची २ बमोजिमको विवरण आयोगमा पठाउने, प्रशासनिक काम तत्काल मिलाउने र त्यस पश्चात् आयोगलाई सुचना प्रकाशित गर्न अनुरोध गर्ने लगायतका निर्णय समेत गरेको छ । 

सो अवसरमा नगर प्रमुख बासुदेव घिमिरेले नगरपालिकामा जनप्रतिनिधि आएसँगै भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न अव्यवस्थित बसोबासी तथा सार्वजनिक जग्गाको लगत संकलन गर्नेलगायतका कामलाई प्राथमिकता दिइएको स्पष्ट पारे ।

अब आयोगसँग भएको कार्यसम्झौताअनुसार भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई जग्गाको मालिक बनाउने काम अघि बढ्ने उनले भनाइ छ । इकाई कार्यालयमार्फत् आयोगले बनाएको फारमको ढाँचा अनुसार लगत संकलन गरिने उनले बताए ।