
सोमवार , चैत्र २७, २०७९
भैरहवा, २७ चैत ।
प्रतिमान-नीमा स्मृति प्रतिष्ठान सिद्धार्थनगर नगरपालिका–३, रुपन्देहीको आयोजना तथा अमेरिका नेपाल मेडिकल फाउण्डेशनको सहयोगमा महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि पाँचदिने तालिम सिद्धार्थनगर नगरपालिकामा सम्पन्न भएको छ । चैत २० गतेदेखि सुरु भएको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका आधारभूत रोग निगरानी र नेतृत्व विकासमा आधारित तालिम चैत २४ (शुक्रबार) एक कार्यक्रमकाबीच समापन गरिएको हो ।
यसअघि देवदह नगरपालिका र रोहिणी गाउँपालिकामा तालिम सम्पन्न भइसकेको प्रतिमान–नीमा स्मृति प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाले बताइन् । प्रतिष्ठानले स्वास्थ्य, शिक्षा, वातावरणलगायत क्षेत्रमा काम गर्दै आएको उनले बताइन् ।
तालिममा ३० जनाको सहभागीता रहेको प्रतिमान–नीमा स्मृति प्रतिष्ठानका निर्देशक धर्म बहादुर के.सी.ले बताए । उनले महिला स्वास्थ्य स्वयंसेविकाको क्षमता अभिवृद्धिका लागि तालिम आयोजना गरिएको बताए ।
तालिम समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष नारायण प्रसाद उपाध्यायले यस्ता तालिमले महिला स्वास्थ्य स्वयंसेविकाको क्षमता अभिवृद्धिको सहयोग पुर्याउने बताए । उनले आगामी दिनमा पनि यस्ता तालिम आयोजना गर्नुपर्नेमा जोड दिए ।
तालिमको प्रमुख प्रशिक्षक तथा स्वास्थ्य कार्यालय, रुपन्देहीकी पब्लिक हेल्थ नर्स अधिकृत कालिका भण्डारीले तालिम राम्रो भएको भन्ने सहभागीको प्रतिक्रियाबाट खुसीको अनुभुति भएको बताइन् । उनले महिला स्वास्थ्य स्वयंसेविकाले सिकेका कुराहरु व्यवहारमा उतार्न सके तालिम सफल भएको आफूले बुझ्ने बताइन् ।
सिद्धार्थनगर नगरपालिका स्वास्थ्य शाखा प्रमुख गीता न्यौपाने पोखरेलले सिद्धार्थनगर नगरपालिकाका महिला स्वास्थ्य स्वयंसेविकाका लागि तालिम आयोजना गर्ने प्रतिमान–नीमा स्मृति प्रतिष्ठानलाई धन्यवाद दिइन् । उनले तालिममार्फत महिला स्वास्थ्य स्वयंसेविकाले खानेपानी, सरसफाईलगायत धेरै विषयमा जानकारी पाउने अवसर पाएको बताइन् ।
तालिमको सहभागीकोतर्फबाट बोल्दै केसर जहा पठानले तालिममा सहभागी हुने मौका पाएकोमा खुसी व्यक्ति गरिन् । उनले आगामी दिनमा पनि यस्ता तालिम सञ्चालन गर्नुपर्नेमा जोड दिइन् ।
प्रतिमान नीमा स्मृति प्रतिष्ठानका कार्यक्रम संयोजक ऋषिराम पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । तालिमको सहजीकरण कालिका भण्डारी र सुनिता धवलले गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij