२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

भैरहवामा अन्तर लायन्स सुपर–सिक्स क्रिकेट प्रतियोगिता हुँदै

बिहिवार , पौष २३, २०७७

भैरहवा, २३ पुस ।
भैरहवामा अन्तर लायन्स क्लब क्रिकेट प्रतियोगिता हुने भएको छ । लायन्स क्लब अफ भैरहवा बोहेमियन्सको आयोजनामा पुस २५ र माघ ३ गते सुपर-सिक्स नकआउट क्रिकेट प्रतियोगिता  हुने भएको हो । आयोजकले बिहीबार भैरहवामा पत्रकार सम्मेलन गरी अन्तर क्लब सम्बन्ध प्रगाढ बनाउनुका साथै खेल क्षेत्रको विकासमा थोरै भए पनि टेवा पुगोस् भन्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै क्लबका अध्यक्ष ईं कृतेश कुमार श्रेष्ठले समाजिक काम गर्नका लागि कोष अभिवृद्धि र एकअर्काबीच भातृत्व विकास गर्न क्रिकेट खेल आयोजना गरिएको जनाए । 

नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य तथा रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले क्रिकेट क्षेत्रको विकासमा विभिन्न संघ–संस्थाले आयोजना गर्ने प्रतियोगिताले थप टेवा पुग्ने बताए ।

लायन्स क्लब इन्टरनेशनल ३२५ बी २ नेपाल एरिया ४ का कोषाध्यक्ष गौतम कुमार गुप्ताले लामो समय रोकिएको खेल गतिविधिलाई चलायमान बनाउन क्रिटेक खेलले सहयोग पुग्ने विश्वास गरे । प्रतियोगितामा १० वटा लायन्स क्लबहरुको टीम सहभागी हुनेछन् । पक्लिहवा मा.वि. को खेलमैदान र सिद्धार्थ रंगशालामा हुने प्रतियोगिताको प्रथम हुनेले २५ हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्ने कार्यक्रम संयोजक शौरभ थापाले जनाए । त्यस्तै उपविजेताले १५ हजार र ट्रफी प्राप्त गर्नेछ । प्रतियोगिता अन्तर्गत हुने ७ वटा खेलमध्ये ४ वटा खेल पुस २५ गते पक्लिहवा मा.वि. मा र ३ वटा खेल सिद्धार्थ रंगशालामा हुने थापाले जानकारी दिए । 

प्रतियोगितामा सहभागिताका लागि प्रत्येक टीमलाई ७ हजार रुपैयाँ दर्ता शुल्क तोकिएको छ भने मुख्य प्रायोजकमा गोदाबारी प्लाजा एण्ड पार्टी प्यालेस भैरहवा छ ।  कार्यक्रम संयोजक सौरभ थापाको स्वागत, क्लबका प्रथम उपाध्यक्ष पाथ्रिवेन्द्र उपाध्यायको ध्वजा अभिवादन तथा सचिव अविजित भुसालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

कोरोना संक्रमणले गर्दा लामो समय खेल क्षेत्र प्रभावित भएको थियो । पछिल्लो समय विभिन्न संघसंस्था र खेलप्रेमीहरुले खेलकुदको आयोजना गरिरहेका छन् । यसले खेलाडीहरुमा थप हौसला मिलेको छ ।