
बिहिवार , चैत्र ३०, २०७९
सियारी, ३० चैत ।
रुपन्देहीको सियारी गाउँपालिकाले गाउँब्लक अन्तरगतका २ सय ५० घरधुरीलाई जग्गाधनी प्रमाणपत्र (लालपूर्जा) वितरण गरेको छ ।
नापी कार्यालय रुपन्देहीको समन्वयमा वडा नम्बर २, ४ र ५ का २ सय ५० घरधुरीलाई पूर्जा बितरण गरिएको सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए । अध्यक्ष घिमिरेले ५ गाउँब्लकको २५० जग्गा धनीपूर्जा वितरण गरिएको बताए । उनले लामो समयको पहल र मिहिनेतपछि सियारीबासीले जग्गा पूर्जा हस्तान्तरण गर्न सकिएको बताए ।
लामो समयदेखि जोतभोग गरेर पनि पूर्जा नपाउँदा कुनै पनि बैंकिङ कारोबार गर्न नपाएका जग्गाधनीले अब आवश्यक परेको बेला बैंकिङ कारोबार गरी आफ्नो काम अगाडि बढाउन सहज हुने बताए ।
२०२५ सालमा नापीमा छुटेका तर, सुरुको नापी हुँदादेखि नै जोतभोग गरे पनि लालपूर्जा नपाएका नागरिकलाई जग्गाधनी पूर्जा वितरण गरिएको हो ।
रुपन्देहीमा १ हजार ८ सय गाउँँब्लकको नापी भएकोमध्ये १ हजार १ सय ५० गाउँब्लकको पुर्जा वितरण गर्न बाँकी रहेको नापी कार्यालयका प्रमुख सुग्रिव यादवले जानकारी दिए । उनले सियारीमा १ सय १५ गाउँब्लकमध्ये ३५ वटा ब्लकको मात्र वितरण गर्न बाँकी रहेको बताए ।
सियारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले सियारीमा १ सय १५ गाउँब्लकमध्ये ३५ वटाको मात्र वितरण गर्न बाँकी रहेकाले बाँकी रहेका गाउँब्लकको पनि छिट्टै नै वितरण गर्ने गरी तयारी अगाडि बढाइएको बताए ।
जग्गाधनी पुर्जा पाएपछि स्थानीय दंग छन् । उनीहरुले लामो समयपछि आफूहरु जग्गाको मालिक हुन पाउँदा खुसीको अनुभुति भएको बताए ।
ष्mबनभक
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij