
बिहिवार , पौष २३, २०७७
भैरहवा, २३ पुस ।
रुपन्देहीमा बोलेरो पिकअप जीपले मोटरसाइकललाई ठक्कर दिदा दुई जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । बुधबार रोहिणी गाउँपालिका–३ रामनगरस्थित भैरहवा परासी हुलाकी सडकखण्डमा भैरहवाबाट परासीतर्फ जाँदै गरेको लु २ च २८४२ नम्बरको पिकअप जीपले विपरित दिशातर्फ आउँदै गरेका लु ३७ प ६७९८ र लु २१ प ७८११ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
लु ३७ प ६७९८ नम्बरको मोटरसाइकलको पछाडी सवार स्याङजाको गल्याङ नगरपालिका खरीपानीका ३० वर्षिय गणेश अधिकारीको युनिभर्सल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सत्य नारायण थापाले बताए । सोही मोटरसाइकलका चालक पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१२ का २८ वर्षिय बिमल गैरेको युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको र उनको अवस्था मध्यम रहेको डीएसपी थापाले जानकारी दिए ।
त्यसै गरी लु २१ प ७८११ नम्बरको मोटरसाइकल चालक रुपन्देहीको देवदह नगरपालिका–११ कदमीपुरको २३ वर्षिय असिम चौधरीको भैरहवास्थित भीम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको र सोही मोटरसाइकलमा सवार कदमीपुर निवासी २५ वर्षिय रमिता चौधरीको भीम अस्पतालमा उपचार भइरहेको र उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij