
शुक्रवार , पौष २४, २०७७
बुटवल, २४ पुस ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर ११ स्थित प्रगति माविको भौतिक र शैक्षिक प्रगतिका लागि भन्दै आयोजना गरिएको महायज्ञको हिसाबकिताब शुक्रबार पत्रकार सम्मेलन गरी विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ । महायज्ञ मुल समितिका अध्यक्ष जित बहादुर मल्लले विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नारायण सारु, सचिव तथा विद्यालयका प्रअ शिव कुमारी अर्यालले आयव्यय हस्तान्तरण गरेका हुन् ।
विद्यालयलाई स्तर बढाउने योजना अनुसार गरिएको महायज्ञबाट धेरै काम भएको उनको दावी छ । वि.सं. २०७५ वैशाख १ देखि २९ गतेसम्म भएको महायज्ञमा दानवीरहरुले नगद, जिन्सी गरी १ करोड ५४ लाख १६ हजार ३ सय ५१ रुपैया प्रतिवद्घता गरेकोमध्ये ३६ लाख ५२ हजार २ सय २४ खर्च भएको उनले बताए ।
प्रतिवद्घता जनाए अनुसार ५७ लाख ९२ हजार ५ सय ५१ रुपैया उठ्न बाकि रहेको छ । बढिमा ५ लाख ७५ हजारसम्म कबोल गरेको उनले बताए । महायज्ञबाट उठेको रकम २२ लाख ११ हजार १ सय ३३ रुपैयाँ विद्यालयलाई प्रदान गरी शिक्षक, कर्मचारीको तलब व्यवस्थापन गरिएको उनले बताए ।
विद्यालयमा ३ जना करार, ३ जना स्थाई, ४ जना राहत, ४ जना बालविकास, १ जना मावि लगायत गरी १८ जना शिक्षक कर्मचारी र साढे ५ सय जना विद्यार्थीहरु अध्ययरत छन् । वडाका जनप्रतिनिधि माया दर्नालले विद्यालयको स्तरउन्नतिका लागि पहल गरेको बताइन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij