२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

उपाध्यक्ष विष्णु पौडेल र मबीच कुनै मतभेद छैन : शंकर पोखरेल

बिहिवार , बैशाख ७, २०८०

  • 2.5K
    Shares
  • 2.5K
    Shares
  • रुपन्देही, ७ वैशाख ।
    नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राजनीतिमा पैसावाला प्रवृत्ति हावी हुँदै गएकोले यसलाई रोक्नुपर्ने बताएका छन् । पैसावालाले मात्रै चुनाव जित्ने भनेर टिकट दिने प्रवृत्तिलाई फेर्नुपर्ने महासचिव पोखरेलले बताए । एमाले लुम्बिनी प्रदेशको मिसन ग्रासरूट समीक्षा बैठकलाई बिहीबार रुपन्देहीको बुटवलमा सम्बोधन गर्दै पोखरेलले भने, ‘चुनाव पैसा भएको उम्मेदवार भन्दा चुनाव नीतिगत रूपमा बुझ्न जरूरी छ ।’ 

    लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका पोखरेलले अब आउँदो निर्वाचनमा एमालेले बहुमतको सरकार बन्ने गरी अगाडि बढन आवश्यक रहेको समेत बताए । ‘बहुमतको, सरकार बनाउन जनमत वृद्वि गर्ने महत्वपूर्ण हो’ महासचिव पोखरेलले भने, ‘चुनाव पार्टीको विषय बन्नुपर्छ । पार्टीले उसको अभियानलाई नेतृत्व गर्नुपर्छ । ’ बलियो राष्ट्रिय शक्तिको नेतृत्व अब एमालेले मात्र गर्न सक्ने पोखरेलले दावी गरे । 

    पोखरेलले आफू र उपाध्यक्ष विष्णु पौडेलबीच कुनै मतभेद नभएको दावी गरेका छन् । महासचिव पोखरेलले आफूहरूबीच पार्टीका हरेक काम सहमतिमै हुने गरेको स्पष्ट पारे । उनले भने, ‘हरेक कुरामा विष्णु प्रसाद पौडेल र मैले सल्लाह गरेर, निर्णय गर्नुअघि कैयौंपटक अनौपचारिक समेत छलफल गरेर टुंगोमा पुग्ने गरेका छौं । आपसमा कुनै मतभेद छैन । तर, कतिपयले तानातान छ भनेर हल्ला गरिदिन्छन् ।’

    एमालेको योजना सामाजिक संघ–संस्थामा नेतृत्वदायी भूमिका हुने गरी योजना बनाउनुपर्ने पोखरेलको भनाइ छ । पार्टीको विकल्प जनताले खोजेको विषयमा विश्लेषण खोज्दै अगाडि बढनुपर्ने बताउँदै पोखरेलले राजनीतिक अस्थिरता सिर्जना गर्न र बलिया र पुराना राजनीतिक दल निर्माण हुन नदिने गरी कमजोर बनाउने खेल भइहेको पोखरेलले दावी समेत गरे । 

    ‘जनप्रतिनिधिलाई अलोकप्रिय बनाउने आफूले टिकट नपाए पार्टीले उठाएको उम्मेदवारलाई हराउन लाग्ने कामका कारणले हामीलाई कमजोर बनाएको हो । यस्ता प्रवृत्तिलाई निमिट्यान्न पार्नुपर्छ’ उनले भने । 

    पार्टी नीतिगत हिसाबले, राजनीतिक हिसाबले, सांगठनिक हिसाबले एक रहेको बताउँदै सार्वजनिक रूपमा जनप्रतिनिधिको टिकाटिप्पणी गर्नु आवश्यक नरहेको पोखरेलको भनाइ छ । मिसन, उद्देश्यप्रति समर्पित हुनैपर्छ । पार्टीका पक्ष, नीति पक्षमा केन्द्रित हुनुपर्ने महासचिव पोखरेलको भनाइ छ ।

    दुईदिने समीक्षा बैठकमा उपमहासचिव प्रदीप ज्ञवाली, सचिव तथा प्रदेश इन्चार्ज छविलाल विश्वकर्मा, डा. राजन भट्टराई तथा लुम्बिनी प्रदेशबाट केन्द्र, प्रदेशको विभिन्न जिम्मेवारीमा रहेका नेताहरु तथा १२ जिल्लाका अध्यक्षहरु सहभागी रहेको एमाले प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले जानकारी दिए ।