images

आइतवार, बैशाख २३ गते २०८१

लुम्बिनीमा प्रदेश प्रमुखको कदमप्रति एमालेले जनायो आपत्ति

लुम्बिनीमा प्रदेश प्रमुखको कदमप्रति एमालेले जनायो आपत्ति

images
images
images
बुधवार, बैशाख १३ २०८०
बुधवार, बैशाख १३ २०८०
  • लुम्बिनीमा प्रदेश प्रमुखको कदमप्रति एमालेले जनायो आपत्ति
    एमाले संसदीय दलका प्रमुख सचेतक तुलसी प्रसाद चौधरी

    भैरहवा, १३ वैशाख ।
    लुम्बिनी प्रदेशसभामा पहिलो दल नेकपा एमालेले प्रदेश प्रमुख अमिक शेरचनको निर्णयविरुद्ध कानूनी लडाई लड्ने जनाएको छ । विश्वासको मत नपाएपछि ठूलो दलको हिसाबले संविधानको धारा १६८ को ३ अनुसार सरकार गठन गर्न प्रदेश प्रमुखसमक्ष दावी गरेको एमालेले धारा २ अनुसार सरकार गठन संविधानविपरीत भएको जनाएको छ ।

    images
    images
    images

    एमाले प्रमुख सचेतक तुलसी प्रसाद चौधरीले बुधबार विज्ञप्ती जारी गर्दै प्रदेश प्रमुखको यो कदम कानूनविपरीत भएको बताए ।

    ‘संसदमा सबैभन्दा ठूलो दललाई सरकार गठनका लागि नेपालको संविधानको धारा १६८ (३) ले नै प्रबन्ध गरेको परिप्रेक्ष्यमा र धारा १६८ (२) बमोजिम गठन भएको सरकारले विश्वासको मत नपाएको अवस्थामा फेरि सोही धारा प्रयोग गर्नु कानूनी रुपमा सही हुँदैन’, विज्ञप्तिमा भनिएको छ, ‘यो हस्तक्षेपकारी भूमिकाको हामी घोर विरोध गर्दछौं र कानूनी उपचारमा जान्छौं ।’

    संविधान र कानूनले दिएको अधिकारलाई पूरै वेवास्ता गरी सरकार गठनको लागि तयारी हुनु भविष्यका लागिसमेत गलत नजीर हुने एमालेको ठहर छ । यसलाई सच्याउन र कानूनको पूर्ण पालना गर्न पनि एमालेले आग्रह गरेको छ । संविधान र कानूनविपरीत जाने कुरा कदापि स्वीकार्य नहुने एमालेको भनाइ छ ।

    ८ दलको समर्थनमा चौधरी मुख्यमन्त्री बन्ने गरी बिहीबार दावी पेश गर्ने तयारीमा छन् । यसअघि चैत १२ गते कांग्रेस र नेकपा (माओवादी केन्द्र) सहित ८ दल र १ स्वतन्त्र गरी ५३ सांसदले चौधरीलाई संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख शेरचनसमक्ष दावी पेश गरेका थिए ।

    एमालेसँग सहकार्य गरेका माओवादीसहितका पाँच दलले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री लीला गिरी अल्पमतमा रहेको भन्दै चौधरीलाई मुख्यमन्त्री बनाउन दावी गर्दै ८ दलले निवेदन हालेका थिए । तर, प्रदेश प्रमुखले मान्यता नदिइ मुख्यमन्त्री गिरीलाई विश्वासको मत लिने समय दिएका थिए ।

    प्रदेश प्रमुख शेरचनले मंगलबार संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेश सरकार गठन गर्न आह्वान गरेका थिए । उक्त आह्वानअनुसार बिहीबार प्रक्रियाअनुसार चौधरीले दावी पेश गर्ने तयारी गरेका छन् ।

    मुख्यमन्त्री गिरीले प्रदेशसभाबाट विश्वासको मत नपाएपछि सरकारबाट बाहिरिएको एमालेले संविधानको धारा १६८ को उपधारा ३ अनुसार फेरी सरकारमा दावी गरेको थियो । तर, प्रदेश प्रमुखले पुनः २ अनुसार नै सरकार गठन आह्वान गरे ।

    ८ दलीय गठबन्धनले भने उपधारा २ अनुसार नयाँ सरकार गठनको आह्वान हुनुपर्ने दावी गरेपछि प्रदेश प्रमुखले कानूनी परामर्शपछि निर्णय लिएका हुन् । सोहीअनुसार प्रदेश प्रमुखले मंगलबार ७ बुँदे कारणसहित संविधानको धारा १६८ को उपधारा २ अनुसार नै सरकार गठन गर्न आह्वान गरे ।

    प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तीमा संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ भन्दा बढी दलको समर्थनमा हस्ताक्षरसहितको स्पष्ट बहुमत देखिने आधारसहित मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्न भन्दै बिहीबार दिउँसो ४ बजेसम्मको समय दिइएको उल्लेख छ ।

    ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादीका १०, राप्रपाका र नागरिक उन्मुक्ति पार्टीका ४–४, जनमत, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३–३, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र एक–एकजना सांसद् रहेका छन् । नयाँ गठबन्धनमा एमालेका २९ र राप्रपाका ४ बाहेक सबै पार्टी र स्वतन्त्र सांसद् रहेका छन् ।

    कांग्रेस प्रमुख सचेतक जन्मजय तिमिल्सेनाले बिहीबार निर्धारित समयभित्रै कांग्रेस नेता डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन दावी पेश हुने बताए ।

    माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष तथा पूर्वमन्त्री सुदर्शन बरालले पनि बिहीबार नयाँ सरकारका लागि दावी पेश हुने बताए ।

    लुम्बिनी प्रदेशमा नयाँ सरकार गठन गर्न आह्वान भएसँगै नेपाली कांग्रेस संसदीय दलका नेता डिल्ली बहादुर चौधरी मुख्यमन्त्री बन्ने निश्चित भएको छ । 

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij