
शनिवार , पौष २५, २०७७
भैरहवा, २५ पुस ।
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता पुरुषतर्फको लुम्बिनी प्रदेशस्तरीय छनौट खेलमा रुपन्देहीले लगातार दोस्रो जित निकालेको छ । शनिबार भैरहवास्थित सिद्धार्थ रंगशालामा भएको खेलमा रुपन्देहीले कपिलवस्तुलाई ७९ रनले पराजित गर्दै दोस्रो जित निकालेको हो ।
टस हारेर ब्याटिङको निम्तो पाएको रुपन्देहीले निर्धारित ३८ ओभरको खेलमा ८ विकेट गुमाई १६७ रनको योगफल बनायो । उसका लागि संदीप रजालीले ३९, देव खनालले ३३, संदीप सुनारले २७, विक्रम भुसालले नटआउट १७ र कृष्ण कार्कीले १६ रन बनाए ।
बलिङमा कपिलवस्तुका दुर्गेश कुर्मीले ४, गंगेशकुमार हरिजनले २, राज अग्रहरी र रमेश पाठकले १/१ विकेट लिए । जवाफी ब्याटिङ गरेको कपिलवस्तुले २७.३ ओभरमा सबै विकेट गुमाई जम्मा ९८ रन मात्र बनाउन सक्यो । उसका लागि रमेश पाठकले २०, राज अग्रहरीले १४ र सुमन थापाले १३ रन बनाए । उसलाई सस्तैमा समेट्न बलिङमा रुपन्देहीका अनिल खरेल र विक्रम भुसालले ३/३ तथा कृष्ण कार्की, दुर्गेश गुप्ता, नितेष थापा र संदीप सुनारले समान १/१ विकेट लिए । रुपन्देहीका विक्रम भुसाल म्यान अफ द म्याचबाट पुरस्कृत भए । भोलि नवलपरासी र कपिलवस्तुबीच प्रतिष्पर्धा हुनेछ ।
ग्रुप ए अन्तरगत रुपन्देही, पाल्पा, कपिलवस्तु, नवलपरासीका खेलहरु भैरहवामा सुरु भएको हो । ग्रुप बी अन्तरगत बाँके, दाङ र बर्दिया जिल्लाका खेलहरु दाङको देउखुरीमा सोमबारबाट हुँदैछ । नेपाल क्रिकेट संघ लुम्बिनी प्रदेशको आयोजनामा सुरु भएको प्रतियोगिताको समापन पछि उत्कृष्ट खेलाडी छनौट गरी माघ २ गते काठमाण्डौमा हुने प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागी लुम्बिनी प्रदेश क्रिकेट टिम तयार गरिनेछ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij