२०८२, भाद्र ५ गते

Aug 21 2025 | २०८२, भाद्र ५ गते

नेपाली नयाँवर्ष २०८० को अवसरमा अमेरिकामा आयोजना गरियो भव्य कार्यक्रम

सोमवार , बैशाख १८, २०८०

  • 961
    Shares
  • 961
    Shares
  • साउदर्न, १८ वैशाख
    अमेरिकामा रहेका नेपालीहरूले नयाँ वर्ष २०८० को अवसरमा एक भव्य समारोहकाबीच शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेका छन् । नेपाली जनसम्पर्क समिति साउदर्न क्यालिफोर्निया च्याप्टरको आयोजनामा आइतबार कार्यक्रम गरिएको हो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कांग्रेस केन्द्रीय सदस्य कल्याण गुरुङले सात समुन्द्र पारी रहँदा पनि आफ्नो संस्कृतिलाई यसरी सम्झिएको पाउँदा निकै खुसी लागेको बताए । ‘विशेष कार्यक्रमको सिलसिलामा अमेरिका पुगेकोमा यहाँहरूले भव्य समारोहमा आमन्त्रण गर्नुभएकोमा खुसी लागेको छ। यसका साथै उहाँहरूले प्रवासमा रहेर पनि नेपाली संस्कृतिलाई जगेर्ना गर्दै आउनुभएको पाउँदा निकै हर्षित तुल्याएको छ,’ उनले भने ।

    विदेशमा रहेका नेपालीहरूको मुलुकको समृद्धिका लागि ठूलो योगदान रहेको चर्चा गर्दै नेता गुरुङले उनीहरूको पूर्ण राजनीतिक अधिकारसहितको दोहोरो नागरिकता दिने कुरामा आफ्नो पार्टी गम्भीर रहेको बताए । उनीहरू नेपालकै नागरिक रहेको र देशको आर्थिक समृद्धिमा पनि ठूलो योगदान रहेकाले राजनीतिक अधिकारसहितको नागरिकता उपलब्ध गराउने विषयमा कांग्रेस गम्भीर रहेको बताए ।

    कार्यक्रमका विशिष्ट अतिथि आनन्द विष्टले पनि आफूहरू राजनीतिक अधिकारसहितको दोहोरो नागरिकता दिन आग्रह गरे । ‘मुलुक आर्थिक विपत्तिमा होस् वा अन्य समयमा हामीले मुलुकका लागि ठूलो सहयोग गरेका छौं । हामी जहाँ भए पनि मनमा नेपाल र नेपालीपन छ । हामीलाई विदेशमै रहे पनि मतदान गर्न पाउने अधिकार दिनुपर्छ र राजनीतिक अधिकारसहितको दोहोरो नागरिकता लिन पाउने व्यवस्था राज्यले गर्नुपर्छ,’ उनले भने ।

    नेपाली जनसम्पर्क समिति साउदर्न क्यालिफोर्निया च्याप्टर सभापति मदन पाठकको सभापतित्वमा सम्पन्न कार्यक्रममा १२ सय जना भन्दा बढीको सहभागिता रहेको बताइएको छ । कार्यक्रमको संयोजक लोकनाथ तिमिल्सिना रहेका थिए । नेपाली जनसम्पर्क समिति अमेरिकाका केन्द्रीय पदाधिकारी, च्याप्टर प्रतिनिधि, गैरआवासीय नेपाली संघलगायत विभिन्न संघ संस्थाका प्रतिनिधि र विभिन्न राज्यबाट नेपालीहरूको कार्यक्रममा सहभागिता रहेको थियो ।