२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

रोहिणी–४ छिपागढमा हाईमास्ट लाइट जडान

बिहिवार , बैशाख २१, २०८०

भैरहवा, २१ वैशाख । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ४ स्थित छिपागढमा हाईमास्ट लाइट (सडक बत्ती) जडान भएको छ । जडान भएको उक्त लाईटको बुधबार रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले उद्घाटन गरेका छन् ।

यसअघि रोहिणी–३ स्थित धकधई र बैकुण्ठपुरमा हाईमास्ट लाइट जडान भइसकेको गाउँपालिका अध्यक्ष यादवले जानकारी दिए । ‘उज्यालो रोहिणी’ बनाउने अभियान अन्तर्गत लाईट जडान गरिएको उनले बताए । गाउँपालिकामा भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा काम अघि बढेको उनले बताए । ‘जनताको चाहना तथा सल्लाह सुझाव अनुसार जनताको साथ सहयोगले अघि बढेका छौं, ’उनले भने ।

हाईमास्ट लाइट जडान भएपछि रोहिणी–४ का स्थानीयबासीले खुसी व्यक्त गरेका छन् । उनीहरुले गाउँपालिका अध्यक्ष यादवको नेतृत्वमा राम्रो काम भएको भन्दै प्रशंसासमेत गरेका छन् ।

जय माँ काली युवा क्लब रोहिणी–४ का अध्यक्ष अमरनाथ पाण्डेले गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादवको अगुवाइमा राम्रो काम भएको बताए । उनले उज्यालो रोहिणी बनाउने संकल्प पूरा हुने विश्वास व्यक्त गरे । उनले भने, ‘हाईमास्ट लाइट जडान भएपछि दुर्घटना न्यूनीकरण हुन्छ, रातीको समयमा यात्रामा समेत सहयोग पुग्छौं । राम्रा काममा हामी सहयोग गर्छौं ।’

स्थानीय मोहम्मद रजा पठानले हाईमास्ट लाइट जडान भएपछि ‘उज्यालो रोहिणी’ बनाउने अभियानमा सहयोग पुगेको बताए । उनले भने,‘राम्रो काम भएको छ ।’

स्थानीय रामकिसुन यादवले हाईमास्ट लाइट जडान भएपछि अब दुर्घटना न्यूनीकरण हुने बताए । उनले पैदलयात्रीलाई पनि सहज भएको बताए । उनले भने, ‘लाईट जडान भएपछि अब फाइदा हुने भएको छ, यो राम्रो कार्य हो, गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादव र सबैलाई धन्यवाद दिन चाहन्छु ।’

त्यस्तै समाजसेवी तथा रोहिणी–४ का संजय गुप्ताले भैरहवा–परासी सडकखण्ड अन्तर्गत छिपागढमा हाईमास्ट लाइट जडान हुनु विकासको नमूना भएको बताए । उनले भने, ‘छिपागढ रोहिणीको मुटु हो । सुरक्षाको दृष्टिकोणले पनि यो लाइट महत्वपूर्ण छ ।’