
बुधवार , बैशाख २७, २०८०
भैरहवा, २७ वैशाख ।
आम नागरिकलाई न्यायमा सहज पहुँचका लागि न्यायिक र अर्थन्यायिक निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको भैरहवामा आयोजित एक कार्यक्रममा जोड दिइएको छ ।
‘स्वच्छ, स्वतन्त्र र सक्षम न्यायपालिका, आजको आवश्यकता’ भन्ने नाराका साथ ७१ औ कानून दिवस–२०८० को अवसरमा रुपन्देही जिल्ला अदालत बार एशोशिएसनले सोमबार भैरहवामा आयोजना गरेको कानून र न्याय सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले न्यायिक समितिले सम्पादन गर्ने कामलाई थप प्रभावकारी बनाउन जिल्ला अदालतले अनुगमन गर्नुपर्ने धारणा राखे ।
नागरिकलाई छिटोछरितो र निःशुल्क न्याय सेवा दिन नेपालको संविधान २०७२ ले स्थानीय तहमा न्यायिक समितिको अधिकार स्थापित गरेको छ । तर हिंसा पीडित महिला तथा बालबालिकालाई संरक्षण दिन संरक्षण गृहको अभावमा थप जटिलता थपिएको छ ।
स्थानीय सरकार संचालन ऐन २०७४ ले न्यायिक समितका क्षेत्राधिकार उल्लेख गरेकोले सोहीअनुरुप कार्यसम्पादन गर्न रुपन्देही जिल्ला अदालत रुपन्देहीका न्यायधिश कृष्णराम कोइरालाले सबै पालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजकलाई सुझाव दिए । उनले रुपन्देहीका बुटवल उपमहानगर, तिलोत्तमा नगरपालिका लगायतका केही पालिकामा न्यायिक समिति प्रभावकारी रहे पनि कतिपय पालिकामा भने सुधारको आवश्यकता रहेको बताए ।
न्यायिक समितिको पुनरावेदन अदालतको रुपमा रहेको जिल्ला अदालतले सबै पालिकाका न्यायिक समितिले गर्ने ईजलासलाई प्रभावकारी बनाउन छिट्टै अनुगमन गर्ने न्यायाधिश कोइरालाको भनाइ छ । महिला तथा बालबालिकाको संवेदनशीलतालाई ख्याल राख्दै काम गर्नका लागि पालिकाले बजेटको व्यवस्था गर्न उनले सुझाव समेत दिए ।
बारका अध्यक्ष अधिवक्ता शिवहरी अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागी कानून व्यवसायीहरुले न्यायिक समितिका संयोजक राजनीतिक पृष्ठभूमिबाट आएकोर्ले वास्तविक पीडितले न्याय नपाउने हुनकी भन्ने चिन्ता व्यक्त गरे । जवाफमा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा अर्याल, तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरी देवी चौधरी, सिद्धार्थनगर पालिकाका उपप्रमुख उमा अधिकारी ,शुद्धोधन गाउँपालिकाका उपप्रमुख शान्ता ज्ञवालीलगायतले आफूहरु जनताबाट अनुमोदित जनप्रतिनिधि भएका कारण जनताको हितमा रहेर काम गर्न प्रतिबद्ध रहेको जनाए । उनीहरुले संविधानले तय गरेको क्षेत्राधिकारभित्र रहेर पीडितलाई न्याय दिलाउन कुनै कसर बाँकी नराख्ने बताए ।
कार्यक्रममा अधिवक्ता तुलसीराम ढकाल, अधिवक्ता शेषनारायण भण्डारीले कार्यपत्र प्रस्तुत गरेका थिए । त्यस्तै जिल्ला अदालतका न्यायाधिश उमेश कोइरालाले न्यायिक समितिको अधिकार प्रयोगमा स्वतन्त्रता र निष्पक्षताको सन्दर्भ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
बारका उपाध्यक्ष अधिवक्ता विष्णु प्रसाद भुसालको स्वाग तथा सचिव अधिवक्ता चोला बहादुर कार्कीको सञ्चालनमा सम्पन्न कार्यक्रममा रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी धु्रव बहादुर कुंवर, वरिष्ठ अधिवक्ताद्धय गोपाल प्रसाद पाण्डे, शिव प्रसाद गौडेल, अधिवक्ता प्रख्यात बन्जाडे, अभिवक्ता कुलानन्द ज्ञवाली, उच्च अदालत बुटवल बार एशोसिएशनका अध्यक्ष कैलाशचन्द्र ज्ञवाली, अभिवक्ता लोकनाथ पन्त, लुम्बिनी प्रेस क्लबका अध्यक्ष सम्झना शर्मा लगायतले सर्वसाधारणले अनुभुति गर्नेगरी न्याय दिलाउन सबै पक्षको प्रतिवद्धता आवश्यक रहेको बताए । कार्यक्रममा रुपन्देही १६ वटै पालिका उपप्रमुख, रुपन्देही जिल्ला अदालत रुपन्देहीका न्यायाधिश, कानून व्यवसायीलगायतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij