२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

प्रगतिनगर सामुदायिक विद्युत सहकारीको चौथो साधारणसभा

उपभोक्तालाई इण्डक्सन चुल्हो दिने योजना

आइतवार , पौष २६, २०७७

बुटवल, २६ पुस । 
बुटवल–११ प्रगतिनगरमा रहेको प्रगतिनगर सामुदायिक विद्युत सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा प्रतिवेदन प्रस्तुत गर्दै सहकारीका अध्यक्ष जितबहादुर मल्लले निकट भविष्यमा सहकारीका शेयर सदस्यहरुलाई धुंवारहित इन्डक्सन चुल्हो प्रयोग गर्न दिने योजना रहेको बताए । इन्डक्सन चुल्हो स्वास्थ्य र वातावरणका दृष्टिले राम्रो र एलपी ग्यासको तुलनामा सस्तो हुन्छ ।  त्यसका लागि प्रगतिनगरमा रहेको ट्रान्सफर्मरको पावर बृद्धिका लागि पहल गर्ने योजना बनाएको अध्यक्ष मल्लले बताए । त्यस्तै आफ्नो कार्यक्षेत्र भित्रका सडक वत्तीको महसुल सहकारीले तिरिदिने, प्रगतिनगरमा सभा हलको आवश्यकता रहेकाले सहकारीको कार्यालयको छतमा सभा हल बनाउने तथा एलपी ग्यास उद्योग सञ्चालनका लागि अध्ययन अवलोकन गर्ने योजना समेत संस्थाको रहेको अध्यक्ष मल्लले बताए ।  

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका सहकारी विभाग प्रमुख गुणाखर खनालले समुदायको पहलमा विद्युत वितरण र चुहावटलाई रोकेर सहकारीले नमूना काम गरेको भन्दै सराहना गर्दै  शेयर सदस्य विस्तार गर्न सुझाव दिए ।  

सहकारीका सल्लाहकार तथा सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालका केन्द्रीय सचिव यम बहादुर पछाईले सक्षम नेतृत्वका कारण रुपन्देहीको पहिलो सामुदायिक विद्युत सहकारीले राष्ट्रियरुपमै चर्चा कमाएको बताए । सामुदायिक विद्युतको सुरुवात १ सय ९ वर्ष पुग्दा पनि देशका विभिन्न जिल्लाका १२ प्रतिशत जनतामा विद्युतको पहुँच नपुगेको बताए ।

 बुटवल–११ का वडा सदस्य माया दर्नालले विगतमा राज्यको पहुंच नपुगेको अवस्थामा सहकारीले जनतालाई विद्युत सेवा पु¥याएर प्रगतिनगरको विकासमा महत्वपूर्ण योगदान गरेको बताइन् । सहकारीका कोषाध्यक्ष नरेश कुमार पुनले  आ.व. २०७६/०७७ को आर्थिक विवरण तथा आ.व. २०७७÷०७८ को विनियोजित बजेट प्रस्तुत गरे भने  लेखा समिति संयोजक  बुद्धि प्रसाद शेरचनले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाको वार्षिक प्राविधिक प्रतिवेदन सहकारीका व्यवस्थापक नर बहादुर भण्डारीले  प्रस्तुत गरेका थिए । 

सबै प्रतिवेदनहरु  सर्वसम्मतिले पारित भएका छन् । सहकारीमा हालसम्म शेयर पुँजी रु ३३ लाख ६९ हजार ७ सय, संस्थाको मुनाफा रु ११ लाख ५१ हजार ९ सय ४२ रहेको छ भने १३७२ जना शेयर सदस्य संस्थामा आवद्ध रहेका छन् । विं.सं. २०६० सालमा दर्ता भएर २०६३ सालमा सञ्चालनमा आएको उक्त संस्था २०७३ साल माघ २३ गते सहकारीमा रुपान्तरण भएको हो ।  
सहकारीका अध्यक्ष जितबहादुर मल्लको अध्यक्षता, उपाध्यक्ष राजेश कुमार गुप्ता तेलीको स्वागत र सचिव राजेश बहादुर बुढाथोकीको सञ्चालनमा सम्पन्न कार्यक्रममा संस्थाले सिनियर इलेक्ट्रिसियन अर्जुनप्रसाद कोइरालालाई सम्मान गरेको व्यवस्थापक नरबहादुर भण्डारीले जानकारी दिए  ।