
सोमवार , पौष २७, २०७७
भैरहवा, २७ पुस ।
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता पुरुषतर्फको लुम्बिनी प्रदेशस्तरीय छनौट खेलमा सोमबार समूह ‘ए’ को खेलमा नवलपरासीले पाल्पालाई २७ रनले पराजित गरेको छ । नवलपरासीको यो लगातार दोस्रो जित हो । यस्तै लमहीमा भएको समूह ‘बी’ को खेलमा बाँकेले बर्दियालाई २ विकेटले पराजित गरेको छ ।
भैरहवास्थित सिद्धार्थ रंगशालामा भएको समूह ‘ए’ को खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नवलपरासीले ७ विकेट गुमाई १३६ रनको योगफल बनाएको थियो । उसका लागि जितेन्द्र साहनीले ५८, रंजित खड्काले २२ र सद्दाम अन्सारीले २१ रनको योगदान गरे । बलिङमा पाल्पाका सागर थापा क्षेत्रीले ३, श्रीधर बस्याल, सुरेश गोदार र रुपेश बस्यालले १/१ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको पाल्पाले २३.४ ओभरमा सबै विकेट गुमाई १०९ रनमै समेटियो । उसका लागि नरेश कुमार कार्कीले ३४, मनिष न्यौपानेले १५ रन बनाए । बलिङमा नवलपरासीका अर्पण लोनियाले ३, जितेन्द्र साहनी र मनिष पाण्डेले समान २/२, जगदीष चौधरी र अजित यादवले १/१ विकेट लिए । खेलमा नवलपरासीका जितेन्द्र साहनी म्यान अफ द म्याच घोषित भए । मौसमका कारण सोमबारको खेल २८ ओभरमा छोट्याइएको थियो । मंगलबार समूह ‘ए’ अन्तर्गत कपिलवस्तु र पाल्पाबीच प्रतिष्पर्धा हुनेछ ।
दाङको लमहीमा भएको समूह ‘बी’ अन्तर्गतको खेलमा टस हारेर ब्याटिङ्ग गर्न आएको बर्दियाले १४ दशमलव चार बलमा सबै विकेट गुमाएर मात्र ५८ रन बनाउन सक्यो । उसका लागि सिद्धार्थ श्रेष्ठले १७ र समिर आचार्यले दश रन बनाए पनि अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । बर्दियालाई सस्तैमा रोक्न दीपेन्द्र रावतले सात विकेट लिएका थिए । ५९ रनको झिनो लक्ष्य पक्ष्याएको बाँकेको पनि राम्रो शुरुवात हुन सकेन । १५ दशमलव दुई बलमा आठ विकेटको क्षतीमा बल्ल लक्ष्य पुरा ग¥यो । जसमा सुनिल भण्डारीले १३ र अनुप सिंहले दश रन बनाए । बर्दियाका गोपाल जिसीले चार र बिशाल विक्रम केसीले तीन विकेट लिएका थिए ।
म्यान अफ दी म्याच दीपेन्द्र रावत भए । नेपाल तेक्वान्दो संघका केन्द्रिय सदस्य तथा आठौं साग गेम्सका स्वर्ण पदक विजेता खेलाडी कोसिस खडकाले खेलाडीलाई म्यान अफ दी म्याच पुरस्कार प्रदान गरेका थिए ।मंगलबार समूह ‘बी’ अन्तर्गत बाँके र दाङबीच प्रतिष्पर्धा हुनेछ । नेपाल क्रिकेट संघ लुम्बिनी प्रदेशको आयोजनामा सुरु भएको प्रतियोगिताको समापन पछि उत्कृष्ट खेलाडी छनौट गरी माघ २ गते काठमाडांैमा हुने प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागी लुम्बिनी प्रदेश क्रिकेट टिम तयार गरिने छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij