
बिहिवार , जेठ १८, २०८०
भैरहवा, १८ जेठ ।
सुर्तीजन्य तथा गुट्खाजन्य पदार्थ निषेधित गरेको भन्दै नेपाल अर्वुद रोग निवारण संस्था रुपन्देहीका दुई नगरपालिकालाई सम्मान गरेको छ । नेपाल अर्वुद रोग निवारण संस्था रुपन्देहीले सुर्तीजन्य तथा गुट्खाजन्य पदार्थ निषेधित पालिका घोषणा गरेका रुपन्देहीको सिद्धार्थनगर र तिलोत्तमा नगरपालिकालाई सम्मान गरेको हो ।
विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवसको अवसरमा बुधबार बुटवलमा आयोजना गरिएको कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक उमाकान्त चपाई र संस्थाका अध्यक्ष खिमबहादुर हमालले यी दुई नगरपालिकालाई सम्मान गरे ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक चपाईले मानव स्वास्थ्यलाई ध्यान दिएर सुर्तीजन्य पदार्थविरुद्धको कानूनलाई कडाइका साथ कार्यान्वयन गर्न जिल्लाका पालिकाहरुलाई आग्रह गरे । उनले तिलोत्तमा र सिद्धार्थनगरले सुर्तीजन्य पदार्थ निषेध गरेकामा धन्यवाद व्यक्त गर्दै निर्णय कार्यान्वयनलाई प्रभावकारी बनाउन अनुगमनलाई सँगसँगै अगाडि बढाउन सुझाव दिए । जिल्लाका अरु पालिकालाई पनि सुर्तीजन्य पदार्थविरुद्धको अभियानमा लाग्न आग्रह गरे । त्यस्तै उनले आफू पनि यो अभियानमा सँगसँगै रहने प्रतिवद्धता व्यक्त गरे ।
तिलोत्तमा नगरपालिका र सिद्धार्थनगर नगरपालिकाले सुर्तीजन्य तथा गुट्खाजन्य पदार्थ निषेधित पालिका घोषणा गरी क्यान्सरमुक्त समाज निर्माणको अभियानमा अग्रसर रहेकोले सुर्तीजन्य तथा गुट्खाजन्य पदार्थ निषेधित गरेका सिद्धार्थनगर र तिलोत्तमा नगरपालिकालाई सम्मान गरिएको नेपाल अर्वुद रोग निवारण संस्था रुपन्देहीका अध्यक्ष खिमबहादुर हमालले बताए । उनले यो कामको लागि नागरिकस्तरबाट पनि प्रोत्साहन मिलोस् र अरु पालिकालाई पनि प्रेरणा मिलोस् भन्ने उद्देश्यले सम्मान गरिएको बताए ।
सुर्तीजन्य पदार्थ नियमन, नियन्त्रण ऐन कार्यान्वयनका लागि संस्थाले जिल्ला प्रशासन तथा पालिकाहरुलाई ध्यानाकर्षण गराइएको र संस्थाको सुर्तीजन्य पदार्थविरुद्धको अभियानमा सहयोग मिलेको नेपाल अर्वुद रोग निवारण संस्थाका सचिव प्रजापाल गिरीले बताए ।
सैअवसरमा संस्थाले संस्थाका सदस्य तथा सल्लाहकार प्रवल जनसेवा श्रीबाट विभूषित निर्मलप्रसाद लाकाैल, लायन्स क्लव डिष्ट्रिकमा निर्वाचित फष्ट भाईस डिष्ट्रिक गभर्नर पुरुषाेत्तमभक्त प्रधानाङ्ग, सेकेन्ड भाईस डिष्ट्रिक गभर्नर बालाराम भट्टराई, सुभयात्रा संस्थाका अध्यक्ष मधुसुदन गैरे र जिल्ला वचत तथा ऋण सहकारी संस्था रुपन्देहीका अध्यक्ष बसन्तप्रसाद ढकाललाई सम्मान गरेकाे छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij