images

शुक्रवार, बैशाख १४ गते २०८१

होटल व्यवसायीको गुनासो : राती १० बजे नै होटल बन्द गराउँदा मर्कामा पर्‍यौं

होटल व्यवसायीको गुनासो : राती १० बजे नै होटल बन्द गराउँदा मर्कामा पर्‍यौं

images
images
images
शनिवार, जेठ २० २०८०
शनिवार, जेठ २० २०८०
  • होटल व्यवसायीको गुनासो : राती १० बजे नै होटल बन्द गराउँदा मर्कामा पर्‍यौं

    भैरहवा, २० जेठ ।
    होटल व्यवसायीहरुले राती १० बजे नै व्यवसाय बन्द गराउँदा आफूहरु मर्कामा परेको गुनासो गरेका छन् । उनीहरुले व्यवसाय छिटो बन्द गर्नुपर्दा होटलमा अबेला आउने पर्यटकलाई खाना र बस्न मिलाउन समस्या आएको प्रहरीसमक्ष गुनासो गरेका हुन् ।

    images

    होटल तथा रेष्टुरेष्ट व्यवसायी संगठन, रुपन्देही र मदिरा व्यवसायी संघ भैरहवा, रुपन्देहीको संयुक्त आयोजनामा शुक्रबार भैरहवामा भएको व्यवसायिक अन्तरक्रिया कार्यक्रममा व्यवसायीहरुले बाटोघाटोको अवस्था तथा सवारीमा केही समस्या आएको खण्डमा यात्रुहरुको आवतजावत रातिसम्म हुने भन्दै जुनसुकै समयमा आउने पाहुनाको सत्कार गर्न पाउनुपर्ने होटल माग गरेका छन् । क्यासिनोमा अवैध मदिरा प्रयोग हुने गरेकोले त्यसतर्फ प्रहरीले निगरानी गर्नुपर्ने उनीहरुको माग छ ।

    कार्यक्रममा बोल्दै होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका अध्यक्ष पिताम्बर न्यौपानेले रात्रीकालिन समयमा पर्यटकको सहज आवतजावतका लागि सुरक्षा प्रदान गर्न आग्रह गरे । उनले पर्यटन क्षेत्रको विकासका लागि रात्रीकालीन बजारको आवश्यकता रहेकोमा जोड दिए । उनले भने, ‘कोभिड–१९ ले होटल व्यवसाय तथा पर्यटन क्षेत्र प्रभावित भयो । ’ चर्को बैंक ब्याजदर र भाडाले व्यवसाय सञ्चालनमा समस्या उत्पन्न भएको छ । होटल व्यवसायीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेको उनको भनाइ छ ।

    होटल व्यवसायी माधव घिमिरेले नेपालको पर्यटन व्यवसाय भारतमा निर्भर रहेकाले भारतीय पर्यटकलाई दुःख दिन नहुने बताए । उनले भने, ‘हेपाहा प्रवृत्ति हटाउनुपर्छ, भारतीय पर्यटकलाई नेपालमा २५ हजार भारु मात्र बोक्न पाउने प्रावधानले समस्या सिर्जना भएको छ । ’

    त्यस्तै व्यवसायीहरुले नेपाली बजारभन्दा भारतीय बजारमा विभिन्न ब्राण्डका कम गुणस्तरीय तर नाम र लोगो एउटै भएका मदिरा सस्तोमा विक्री हुँदा यहाँका मदिरा व्यवसायी मारमा पर्नुका साथै राज्यलाई ठूलो राजस्व नोक्सानी भएकोले सीमामा अवैध मदिरामा निगरानी बढाउनुपर्ने सुझाव दिए । 

    मदिरा व्यवसायी संघ भैरहवा, रुपन्देहीका अध्यक्ष केशवराज ज्ञवालीले बजारमा देखिएका नक्कली तथा घरेलु मदिराका कारण राज्यलाई कर तिरेर व्यवसाय सञ्चालन गरेका व्यवसायी पलायन हुने अवस्थामा पुगेका बताए । एकातिर नेपाली बजारमा नक्कली मदिराको बिगबिगी र अर्कोतर्फ सस्तोको नाममा भारतबाट हुने अवैध मदिरा आयातका कारण नेपालको व्यवसाय समस्यामा परेको बताए । उनले भने, ‘राज्यले अवैध मदिरालाई निगरानी गर्नुपर्छ । नक्कली मदिरा विक्रीवितरणले मदिरा व्यवसायी पीडित भएका छन् । चनाखो हुन जरुरी छ । ’

    मदिरा व्यवसायी संघ भैरहवाका उपाध्यक्ष भागिरथ पाण्डेले व्यवसाय पलायन हुने अवस्थामा पुगेको गुनासो गरे । उनले घरेलु मदिराका कारण राजस्व संकलनमा समेत कमी आएको बताए ।

    यति ब्रुअरी प्रा.लि.का क्षेत्रीय सेल्स म्यानेजर प्रितम गिरीले अवैध मदिरा खरिद गर्न नहुने बताए । उनले नक्कली मदिरा र अवैध मदिरा आयातले समस्या परेको बताए । 

    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका उपाध्यक्ष दिलिप कुमार कान्दुले चोरीपैठारी र अवैध कारोबारका कारण स्वदेशी व्यवसायी मर्कामा परेको बताए ।

    लुम्बिनी प्रेस क्लब रुपन्देहीकी अध्यक्ष सम्झना शर्माले पेशा तथा व्यवसायलाई मर्यादित बनाउनुपर्नेमा जोड दिइन् । उनले खुल्ला सीमाको फाइदा उठाउँदै नेपाल भित्रिने अवैध सामानका कारण समस्या उत्पन्न भएको बताइन् । व्यवसायीलाई सुरक्षा प्रदान गर्ने जिम्मेवारी प्रहरी प्रशासनको भएको उनको भनाइ छ ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) भरत बहादुर विकले होटल व्यवसाय शान्ति सुरक्षासँग प्रत्यक्ष जोडिएकोले प्रत्येक होटलमा सीसीटिभी क्यामेरा जडान गर्नुपर्ने सुझाव दिए । प्राय सबै अपराधको योजना होटलमै बसेर बनाउने गरेको अनुसन्धानमा देखिएकोले होटलमा आउने हरेक व्यक्तिको व्यक्तिगत विवरणका लागि नागरिकता वा परिचय खुल्ने भरपर्दो परिचयपत्र अनिवार्य माग्ने, लेखाएको मोबाइल नम्बर सही हो वा हाइन समयमै एकिन गर्ने, होटलमा आएका व्यक्तिको गतिविधिबारे निगरानी गर्ने जस्ता सावधानी अपनाउन होटल व्यवसायीहरुलाई अनुरोध गरे । 

    त्यस्तै होटल सञ्चालन गर्ने सञ्चालकले आफ्ना कर्मचारीलाई कानूनी मापदण्डका विषयमा जानकारी गराउने, कम उमेरका बालबालिकालाई काममा नलगाउने तथा उनीहरुमाथि हुन सक्ने दुव्र्यवहारका बारेमा सचेत गराउने लगायतका कुरामा सावधानी गराउन आग्रह गरे । अवैध मदिरा नियन्त्रणका लागि प्रहरी तत्पर रहेको र व्यवसायीले सूचना दिएर सहयोग गर्नुपर्ने उनले बताए । 

    मदिरा व्यवसायी संघ, भैरहवाका वरिष्ठ उपाध्यक्ष बाबुराम पाण्डेको धन्यवाद ज्ञापन तथा होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका महासचिव राजेश महोत्राको सञ्चालनमा सम्पन्न कार्यक्रममा होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका निवर्तमान अध्यक्ष गणेश प्रसाद बेल्बासे, चेम्बर अफ कमर्स (उद्योग व्यापार संगठन, रुपन्देही)का महासचिव सचिन रोक्का लगायतले बोलेका थिए ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij