२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

नगरस्तरीय भलिबलको उपाधि कुंवरवर्ती र नवज्योतिलाई

मंगलवार , पौष २८, २०७७

बुटवल, २८ पुस । 
प्रथम तिलोत्तमा नगरपालिका माविस्तरीय छात्र–छात्रा भलिबलको उपाधि क्रमशः कुंवरवर्ती इङलिस बोर्डिङ स्कूल प्रदीपनगर र नवज्योति बोर्डिङ स्कूल चार नम्बरले जितेका छन् । तिलोत्तामा–८ स्थित कुंवरवर्ती बोर्डिङ स्कूलमा सोमबार सम्पन्न फाइनलमा सेन्ट जोसेफ मावि भलबारीलाई पराजित गर्दै कुंवरवर्तीले उपाधि जितेको हो । 

छात्र भलिबलमा सेन्ट जोसेफ मावि उपविजेता र सिद्धार्थ बोर्डिङ स्कूल डिङगरनगर तेस्रो भएका छन् । यस्तै छात्रातर्फको फाइनलमा कुंवरवर्ती बोर्डिङ स्कूललाई पराजित गर्दै नवज्योति बोर्डिङ स्कूल चार नम्बरले उपाधि जितेको छ । छात्र तथा छात्रा दुवैतर्फ फाइनलमा पुग्ने एक मात्र विद्यालय कुंवरवर्ती बनेको छ ।  

छात्रातर्फ कुंवरवर्ती उपविजेता हुँदा सिद्धार्थ बोर्डिङ स्कूल तेस्रो भएको छ । विजयी टिम र विभिन्न विधाका उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरीदेवी चौधरी, नगरपालिकाका शिक्षा शाखा प्रमुख गंगाराम आचार्य, तिलोत्तमा नगर खेलकुद विकास समितिका अध्यक्ष राजेन्द्र गुरुङ, नेकपा तिलोत्तमा नगर सचिव लक्ष्मण खनाल र नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले नगद पुरस्कार, ट्रफी तथा प्रमाणपत्र प्रदान गरे । 

छात्र र छात्रा दुबैतर्फको उपाधि विजेता, उपविजेता र तेस्रो हुने टिमले  क्रमश : नगद ३० हजार,२० हजार र १० हजार रुपैया प्राप्त गरेका छन् । नगर खेलकुद विकास समिति तिलोत्तमाको आयोजना तथा कुंवरवर्ती इङ्गलिस बोर्डिङ स्कुलको संयोजनमा भएको प्रतियोगितामा छात्रतर्फ नगरका १८ र छात्रातर्फ ११ विद्यालयको सहभागिता थियो ।

समापन समारोहमा छात्र तथा छात्रा दुवैतर्फ बेस्ट प्लेयर, बेस्ट सर्भर, बेस्ट स्पाइकर, बेस्ट डिफेन्स, बेस्ट ब्लकर, अनुशासित खेलाडी, उदियमान खेलाडी, उत्कृष्ट कोच, उत्कृष्ट टिम म्यानेजरलाई पुरस्कृत गरिएको कार्यक्रमका सञ्चालक एवं कुंवरवर्ती बोर्डिङ स्कूलका प्राचार्य दीपक खनालले बताए । 

यो प्रतियोगितामा उत्कृष्ट खेलेका खेलाडी मध्येबाट पहिलो चरणमा छात्र र छात्रा दुबैतर्फ १८ जनाका दरले र ती मध्येबाट १२ जना खेलाडी छनोट गरी तिलोत्तमा नगरपालिकाको जुनियर टिम बनाइनेछ । नगरपालिकाले यसअघि वडा कप भलिबल सम्पन्न गरी सिनियर टिम छनोट गरिसकेको छ । विभिन्न विधाका खेल प्रतियोगिताका लागि तिलोत्तमा नगरपालिकाले चालु आर्थिक वर्षमा ५० लाख रुपैयाँ बजेट छुट्टाएको नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिए ।