मंगलवार , जेठ २३, २०८०
भैरहवा, २३ जेठ ।
केही दिनदेखि निरन्तर रुपमा गर्मी बढेपछि रुपन्देहीको सियारी गाउँपालिकाले पालिकाभित्रका शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको छ । बढ्दो गर्मीका कारण विद्यार्थीहरुलाई विद्यालय जान आउन तथा पठनपाठनमा समस्या आएपछि १४ दिन पालिकाभित्रका सामूदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरिएको शिक्षा शाखा प्रमुख सुधिर पौडेलले जानकारी दिए ।
पालिका अन्तरगतको शिक्षा समितिको आज (मंगलबार) बसेको बैठकले बुधबारदेखि आगामी असार ६ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको पौडेलले जानकारी दिए ।
‘गर्मी बढेपछि विद्यार्थीहरुलाई विद्यालयसम्म जान, आउन तथा पठनपाठनमा समस्या आएको थियो, जिल्ला विपद् व्यवस्थापन समितिले पनि अत्याधिक गर्मी बढेका कारण विद्यार्थीहरु समस्या परेको भन्ने पत्र आएको थियो’ सियारी गाउँपालिका अध्यक्ष एवंं शिक्षा समितिका संयोजक थानेश्वर घिमिरेले भने, ‘त्यसैले १४ दिनसम्म विद्यालयहरुमा विदा दिने निर्णय गरेका हौं ।
पालिकाले पछिल्लो समय गर्मी अत्याधिक रुपमा बढ्दै गएको उल्लेख गर्दै आफ्ना बालबालिकालाई दिउँसोको समयमा घाममा हिड्डुल गर्न नदिन आग्रह गरेको छ ।
त्यस्तै पूर्वनिर्धारित परीक्षालाई साउन १९ गतेभित्र सम्पन्न गर्ने गरी कार्यतालिका बनाउन आग्रह गर्दै अहिलेलाई १४ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिए ।
रुपन्देहीमा केही दिनदेखि निरन्तर रुपमा ३८ देखि ४२ डिग्री सेल्सीयस तापक्रम मापन गरिएको छ । गर्मीका कारण विद्यार्थीहरु बिरामी भएर अस्पताल भर्ना हुने गरेका छन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij