२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

उपप्रमुखहरुको समाचारले प्राथमिकता नपाएको गुनासो

मंगलवार , जेठ २३, २०८०

बुटवल, २३ जेठ । महिलाको सहभागिता स्वीकार गरे जस्तै नेतृत्व पनि स्वीकार गर्न सके स्थानिय पालिकाहरुको बिकास गर्न सहज हुने एक कार्यक्रमका बक्ताहरुले उल्लेख गरेका छन् । 

मंगलबार बुटवलमा सञ्चारिका समुह नेपाल रुपन्देहीले आयोजना गरेको स्थानीय तहका उपप्रमुख र उपाध्यक्ष अन्तर सम्वाद कार्यक्रममा बोल्ने स्थानिय पालिकाका उपप्रमुख तथा उपाध्यक्षहरुले महिलाको सहभागिता स्वीकार गरेपनि नेतृत्व स्वीकार गर्न नसकेको भन्दै गुनासो गरे ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले समाजमा रहेको पितृसत्तात्मक सोचका कारण काम गर्न असहज भएको बताईन । उनले उपप्रमुखको जिम्मेवारी धेरै हुने भएपनि सञ्चार माध्यमहरुमा आफ्ना कामहरुले खासै प्राथमिकता नपाएको गुनासो गरिन । 

तिलोत्तमानगर पालिकाका उपप्रमुख जगेश्वरदेवी चौधरीले तिलोत्तमा नगरपालिकालाई लैगिकमैत्री नगर बनाउनका लागि आफुहरु लागि परेको भन्दै त्यसका लागि सबैको सकारात्मक सहयोग आवश्यक रहेको बताईन । उनले पत्रकारको कलम जहिले पनि निष्पक्ष ढङ्गबाट चल्नुपर्नेमा जोड दिईन ।

कार्यक्रममा देवदह नगरपालिका उपप्रमुख विध्यालक्ष्मी गुरुङ्गले भौतिक विकासले मात्र लक्ष्य पुरा हुन नसक्ने भन्दै अब सबै महिलाहरुलाई आर्यआर्जनका लागि जोड्ने काम आफु प्राथमिकतामा राखेको बताईन । 

सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा अधिकारीले उपप्रमुखले गरेको कामको प्रचार हुन नसकेको भन्दै राम्रा समाचार सम्प्रेषण गर्न र गर्नु पर्ने कामका बारे सुझाव दिन आग्रह गरिन् ।

त्यसैगरी गैडहवा गाँउपालिकाका उपप्रमुख माधुरी जैयसवालले सञ्चारकर्मी  महिलाहरुलाई सहयोग गर्ने प्रतिबद्धतासगै समाज परिवर्तन गर्न महिलाको भुमिका महत्वपुर्ण रहेको बताईन । 

कार्यक्रममा बोल्दै पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले अब स्थानीय तहले पत्रकार महिलाका लागि बजेट विनियोजन गरेर क्षमता बढाउन सहयोग गर्नुपर्नेमा जोड दिए ।

सञ्चारिका समुह लुम्बिनी प्रदेशका अध्यक्ष अमृता अनमोलले उपप्रमुख र सञ्चारकर्र्मी महिलाबीचको सहकार्य जरुरी रहेको भन्दै कार्यक्रमले एक अर्काबीचको सम्बन्धलाई नजिकबाट बुझ्ने अवसरका रुपमा सबैले लिनुपर्नेमा जोड दिईन । 

सञ्चारिका समूह रुपन्देहीका अध्यक्ष निरा गौतमले स्थानीय तहमा रहेर काम गरिरहेका उपप्रमुख र उपाध्यक्षहरुसँगको सहकार्य पत्रकार महिलाका लागि अत्यन्त महत्वपुर्ण रहेकाले कार्यक्रमको आयोजना गरिएको बताईन । कार्यक्रममा सञ्चारिका समुह रुपन्देहीका सल्लाकार ईन्दिरा अर्याल, प्रेस युनियन रुपन्देहीका पुर्व अध्यक्ष रेखा भुषाल, डब्लु डब्लु जे रुपन्देहीका अध्यक्ष कल्पना तिवारी, सञ्चारिका समुह रुपन्देहीका उपाध्यक्ष मिना ढकाल, महासचिव अस्मिना पाण्डेय लगायतले बोलेका थिए ।