
कालोसूचीमा परेको पत्र बुझ्न आएका दर्लामीमाथि कडा कारवाहीको माग
बुधवार , जेठ २४, २०८०
भैरहवा, २४ जेठ ।
रुपन्देहीको रोहिणी गाउँपालिका–४ मा रहेको नेश्नल कन्ट्रक्सन प्रा.लि.का प्रतिनिधि शिव दर्लामीले देवदह नगरपालिकाका कर्मचारीमाथि अभद्र व्यवहार गरेका छन् ।
नगरपालिकाले आव्हान गरेको नदीजन्य पदार्थको ठेक्का लिएर समयावधिभित्र सम्झौता गर्न नआएपछि कालोसूचीमा राखेको पत्र बुझ्न आएका नेश्नल कन्ट्रक्सन प्रा.लि.का प्रतिनिधि देवदह नगरपालिका–५ बस्ने दर्लामीले राजश्व शाखा प्रमुख विष्णु बस्याल र शाखाका कर्मचारीमाथि अभद्र व्यवहार गरेको प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेलले जानकारी दिए । उनले नदीजन्य पदार्थको ठेक्का सम्झौताका लागि पटकपटक पत्रिकामा सूचना जारी गरी बोलाए पनि नआएपछि ठेक्का स्वीकृत गर्दा जम्मा गरिएको धरौटी जफत गरी प्रक्रियागत रुपमा कालोसूचीमा राख्ने कार्यपालिका र कार्यालयको निर्णयअनुसार कालोसूचीमा राखिएको पत्र बुझ्न आएका दर्लामीले कालोसूचीबाट नहटाए कर्मचारीलाई काट्ने, मार्ने धम्की दिदै कार्यालयका कुर्सी तोडफोड गरेको बताए ।
प्रमुख प्रशासकीय अधिकृत पौडेलकाअनुसार धम्की दिने र अभद्र व्यवहार गर्ने व्यक्तिलाई कानूनी कारवाही नहुँदासम्म कार्यलयमा काम गर्न नसकिने बताए । उनले आवश्यक कारवाही लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय रुपन्देहीलाई आग्रह गरिएको बताए ।
घटनाको विरोधमा नगरपालिकाका कर्मचारीले कार्यालयको सम्पूर्ण कामकाज ठप्प पारी दिनभर पेनडाउन गरेर बसका थिए । कर्मचारीलाई कुटपिटको धम्की दिने व्यक्तिलाई कारवाही नहुँदासम्म काममा फर्कन नसकिने नगरपालिकाका लेखा अधिकृत निरज पौडेलले जानकारी दिए ।
देवदह नगरपालिका प्रमुख धुर्वप्रसाद खरेलले कर्मचारीमाथि काटमारको धम्की दिने तथा कार्यालयका कुर्सी तोडफोड गर्ने व्यक्तिलाई कडा भन्दा कडा कारवाहीको माग गरिएको बताए । उनले कारवाहीका लागि स्थानीय प्रशासनलाई आग्रह गरिएको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij