
मंगलवार , पौष २८, २०७७
बुटवल, २८ पुस ।
काठमाडौंमा हुने राष्ट्रियस्तरको स्नूकर प्रतियोगिताका लागि बुटवलमा खेलाडी छनोट गर्न वार्म अप टुर्नामेन्ट हुने भएको छ । काठमाडौंमा माघ २४ गतेदेखि हुने २ लाख ११ हजार र १० लाख पुरस्कार राशीको प्रतियोगिताका लागि जिल्लाबाट भाग लिने खेलाडी छनोट गर्न वार्मअप टुर्नामेन्ट (अभ्यास खेल) गर्न लागेको हो ।
बुटवल अमरपथस्थित खस्यौली स्नुकर क्लबमा माघ २ गतेदेखि प्रतियोगिता हुने आयोजक रुपन्देही पूल तथा स्नूकर संघ रुपन्देहीले जनाएको छ । टुर्नामेन्टमा ३५ जना भन्दा बढी खेलाडी सहभागी हुने अपेक्षा गरिएको संघका अध्यक्ष जगेन्द्रमान श्रेष्ठले बताए ।
दर्ता शुल्क एक हजार लिइने टुर्नामेन्टमा उत्कृष्ट हुने बढीमा ६ जना खेलाडीलाई काठमाडौंमा हुने प्रतियोगितामा पठाइनेछ । दर्ता शुल्क वापत उठेको रकम छनोट भएका खेलाडीलाई दिइने संघका उपाध्यक्ष सुजन पुनले बताए ।
पत्रकार सम्मेलनमा खेल संयोजक नवीन गुरुङ, संघका सचिव शिव राना, उपाध्यक्ष बबिन थापा लगायतले बोल्दै खेलाडीलाई प्रतियोगिताका लागि तयारी अवस्थामा राख्न टुर्नामेन्ट गरिएको र यसले सकारात्मक परिणाम दिने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij