२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

सम्मरीमाई–७ मा सार्वजनिक सुनुवाइ

शुक्रवार , जेठ २६, २०८०

भैरहवा, २६ जेठ ।
रुपन्देहीको सम्मरीमाई गाउँपालिका वडा नम्बर ७ को आयोजनामा शुक्रबार सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । बेतकुइयाँस्थित वडा कार्यालयको सभाहलमा सार्वजनिक सेवा तथा विकास निर्माणको प्रभावकारिता विषयमा सेवा प्रदायक र स्थानीय सरोकारवालाहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रममा सरोकारवालाहरूको तर्फबाट कृषक आदर्श माध्यमिक विद्यालय बेतकुइयाँका सहायक प्रधानाध्यापक राजेश यादव, स्वास्थ्यकर्मी तलबु निशा, सेवाग्राही रामबेलास कुर्मी, इन्द्रजीत धवललगायतले मुख्यतः शैक्षिक सुधार, विकास निर्माण र बजेट खर्चका बारेमा सुझाव दिएका थिए ।

कार्यक्रममा वडाको संक्षिप्त प्रगति प्रतिवेदन प्रस्तुत गर्दै वडाअध्यक्ष राधेश्याम कुर्मीले वडा अन्तर्गतका कुल ३६ मध्ये २७ योजना तथा कार्यक्रम सम्पन्न भइसकेको बताए । उनले भने, ‘अहिले ८ योजना सञ्चालनमा छन् भने जग्गा विवादका कारण एउटा योजना कार्यान्वयन हुन सकेको छैन ।’

वडाअध्यक्ष कुर्मीले २०७९ साउन महिनादेखि २०८० जेठ महिनाको २५ गतेसम्म सम्पत्तिकर, मालपोत, घर–जग्गाबहाल कर, सिफारिस दस्तुर, अन्य दस्तुर तथा राजस्व गरी कुल ४ लाख ८४ हजार, ८ सय ८२ रूपैयाँ संकलन भइ ७ नम्बर वडा कार्यालयको नविल बैंक खातामा दाखिला भएको बताए । 

सरोकारवालाहरूको जिज्ञासाहरूलाई सम्बोधन गर्दै वडाअध्यक्ष राधेश्याम कुर्मीले सडक मर्मत तथा पीसीसी ढलान, सामुदायिक भवन मर्मत तथा निर्माण, सिंचाई प्रयोजनका लागि विद्युतीकरण, कृषकलाई बिउ वितरण, विभिन्न स्वास्थ्य शिविर सञ्चालन र जेष्ठ नागरिकलाई सम्मान कार्यक्रम गरिएको बताए ।

उनले विद्यार्थीलाइ पोशाक तथा शैक्षिक सामग्री वितरण, सिंचाइका लागि बोरिंग जडान, नहरमा ब्लक नाली निर्माण, मदरसा–विद्यालय भवन मर्मत, विपद् पूर्व तयारी तालिम, खेलकुद सामग्री वितरण, मेलमिलापकर्तालाइ क्षमता विकास तालिम, महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन तथा खोप क्लिनिकलगायतका कार्यक्रम सञ्चालन भएको बताए । 

उनले भने, ‘प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत वडाका ८० जना बेरोजगारलाई सूचीकृत गरिएको छ भने ३० जना बेरोजगारलाई तीन हजार दिन काम दिइएको छ ।’ वडाभरीमा रहेका नहर, नाली तथा कुला–नालाको सरसफाई गरी सिंचाई तथा जल निकासको व्यवस्थापन गरिएको उनले बताए ।

स्थानीय तहमा भएका गतिविधिहरुको बारेमा सार्वजनिक सुनुवाइमा सहभागीहरुले सोधेको प्रश्नमा वडाध्यक्ष राधेश्याम कुर्मी, सामुदायिक विपद् व्यवस्थापन राष्ट्रिय संजाल नेपालका राष्ट्रिय अध्यक्ष जगन्नाथ प्रसाद कुर्मी, दलित सामाजिक विकास केन्द्रका अध्यक्ष छोटे प्रसाद हरिजन, वडा सचिव बसन्तराम यादव र स्वास्थ्य चौकी प्रमुखलगायतले जवाफ दिएका थिए । 

दलित सामाजिक विकास केन्द्रको प्राविधिक सहयोग तथा संस्थाका सदस्य चन्द्रिका हरिजनद्वारा सञ्चालित कार्यक्रमको समापन गर्दै वडाअध्यक्ष कुर्मीले वडामा भए गरेका गतिविधिमा आफ्नो साझा चिन्तन रहेको र सार्वजनिक सुनुवाइमा सुझाव तथा सल्लाह दिएकोमा धन्यवाद दिएका थिए ।