२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

जनगणनामा समावेश गर्न यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको माग

बुधवार , पौष २९, २०७७

भैरहवा, २९ पुस ।
आगामी २०७८ मा हुने राष्ट्रिय जनगणनामा आफुहरुलाई समावेश गरिनुपर्ने यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले माग गरेका छन् । एक्लोलाई सहारा दिने वृक्ष समूह र ओपन सोसाइटी फाउण्डेशनको आयोजनामा बुधबार भैरहवामा भएको पत्रकार सम्मेलनमा उनीहरुले यस्तो माग गरेका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै ओपन सोसाइटी फाउण्डेशन लुम्बिनी प्रदेश कोर्डिनेटर रेशम न्यौपानेले महिला, पुरुष र अन्य भनी राष्ट्रिय तथ्यांक मै समावेश गर्नुपर्ने माग गरे । ‘जनगणना गर्दा नै फरक परिचय भएका कारण यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय सधै परिचयविहीन हुन पुगेका छन, उनले भने । विभिन्न जनगणनामा अन्य भन्ने स्थान सुरक्षित राखेर तथ्यांक संकलन गर्दा त्यसबाट देशमा रहेका यो समुदायको एकिन तथ्यांक बाहिर आउने र निर्वाचनमा समेत सोही अनुरुपको व्यवस्था राख्न सहज हुने उनको भनाइ छ ।

परिचय लुकाएर बाँच्नुपर्ने बाध्यताले नै लकडाउनको समयमा देशभर यो समुदायका १७ जना युवायुवतीले आत्यहत्या गर्न बाध्य भएको समेत न्यौपानेले दुःखेसो गरे ।

कुल जनसंख्याको करिब ८ देखि १० प्रतिशत यो समुदाय रहेको भए पनि समाजमा खेप्नुपर्ने नकारात्मक टिकाटिप्पणीले खुलेर बाहिर आउन नसकेको उनको भनाइ छ । यौनिक तथा अल्पसंख्यक समुदायका व्यक्तिहरु समाजमा खुल्न चाहे पनि यो समुदायलाई विभिन्न अवसरबाट वञ्चित गरिएको उनको भनाइ छ ।