
बुधवार , पौष २९, २०७७
ओमसतियामा खिचडी महोत्सव हुँदै
भैरहवा, २९ पुस ।
रुपन्देहीको ओमसतियामा खिचडी महोत्सव हुने भएको छ । माघी पर्वको अवसर पारेर ओमसतिया सांस्कृतिक युवा क्लबले माघ १ गते महोत्सव गर्न लागेको आयोजकले बुधबार भैरहवामा पत्रकार सम्मेलन गरी जानकारी दिएका हुन् ।
‘हम्मन संस्कृति, हम्मन पहिचान, सम्बद्र्धन कयना हम्मन अभियान’ भन्ने नारासहित ओमसतिया गाउँपालिका वडा नम्बर ३ स्थित हाटीफर्साटिकरमा दोस्रो खिचडी महोत्सव एवं सांस्कृतिक कार्यक्रम गर्न लागिएको क्लबका सल्लाहकार दिल बहादुर चौधरीले बताए । थारु कला, संस्कृति र पहिचानको संरक्षण एवं प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित महोत्सवमा १५ वटा झाँकी प्रदर्शन गरिनेछ ।
त्यस्तै, महोत्सवमा विभिन्न थारु खानाका परिकार पस्किनुका साथै सांस्कृतिक कार्यक्रम पनि गरिनेछ । चौधरीका अनुसार महोत्सवमा मनोरञ्जन दिनुका साथै थारु खानाहरु घोंगी, खिचडी, माछा, ढिकरी लगायतको स्वाद समेत चखाइनेछ ।
माघी थारु समुदायको प्रमुख चाड हो । नेपालीका लागि माघे संव्रmान्ति विशेष पर्व मानिन्छ भने थारु समुदायका लागि माघी नयाँ वर्षको दिन पनि हो । त्यसैले यसको अवसरमा थारु समुदायले विभिन्न कार्यक्रम गर्ने गर्छन । माघे संक्रान्ति एक दिन मात्र मनाइन्छ भने थारु माघी पर्व पुरै महिनाभरी नै मनाउने चौधरीले जानकारी दिए । थारु समुदायमा ‘हामी’ को भावना यही माघी पर्वले महत्वका साथ विकास गर्छ । यसलाई थारु समुदायले परापूर्वकाल देखि नै महान् पर्वको रुपमा धुमधामसँग मनाउँदै आएको विश्वास छ ।
ज्योतिष शास्त्रअनुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई मकर संक्रान्ति (माघे संक्रान्ति) पनि भनिएको हो । यो माघ महिनाको पहिलो दिन मनाइन्छ । माघे संक्रान्ति अर्थात् माघी पुसको अन्तिम दिनदेखि सुरु हुन्छ । थारु समुदायमा पुसको अन्तिम दिनमा गाउँभरीका मानिसहरु मिलेर सुँगुर काट्ने चलन छ । यसलाई ‘जिता मर्ना’ भनिन्छ । र त्यो दिनलाई ‘जिता मर्ना दिन’ भनिन्छ । महोत्सवमा थारु संस्कृति झल्कने गरी विभिन्न सामाग्रीसँगै पोसाक, गरगहना, थारु नाच पनि झल्काइने चौधरीले बताए । महोत्सव अघि ओमसतियामा रहेका विभिन्न संघ–संस्था, आमा समूह, क्लबहरुले आफ्नो संस्कृति झल्कने गरी ¥याली निकाल्नेछन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij