
सोमवार , आषाढ ४, २०८०
बुटवल, ४ असार ।
बुटवलमा पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर र आङ खस्ने समस्यासम्बन्धि निशुल्क स्वास्थ्य शिविर भएको छ । बुटवल उपमहानगरपालिकाको आयोजना र सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दाको प्राविधिक सहकार्यमा सोमबार बुटवल ११ बुद्धनगरस्थित शहरी स्वास्थ्य केन्द्रमा शिविर सुरु भएको हो । शिविरमा १४ वर्षमुनीका सबै बालबालिकाहरुको निःशुल्क पोषण अबस्था परिक्षण पनि सुरु भएको छ ।
शिविरको सुरुवात गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलमा घरदैलोमा सेवा पुर्याउने गरी शिविर सञ्चालन गरिएको र यसले निरन्तरता पाउने बताए ।
उनले महिला, बालबालिका र जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण तथा उपचारमा प्राथमिकता दिदै बुटवलका सबै वडावडामा शिविर सञ्चालन गर्ने बताए ।
‘हामीले बुटवलको स्वास्थ्यलाई स्तरीय बनाउँदै बुटवलबाट अन्यत्र उपचार गर्न जान नपरोस् भन्ने गरी केही कामहरुको थालनी गरेका छौं–उनले भने–यसले बुटवललाई स्वास्थ्य क्षेत्रमा धेरै अगाडि लैजानेछ ।’ उनले आम्दा अस्पताललाई ३ सय बेडमा सञ्चालन गर्ने, फार्मेसी, नर्सिङको अध्ययन सुरु गर्ने र न्युरोसम्बन्धी उपचार सुरु गर्ने गरी तयारी गरिरहेको बताए ।
नगरप्रमुख पाण्डेयले बुटवलमा अहिले २ वटा १५–१५ बेडका अस्पताल निर्माणको क्रममा रहेको र आगामी आर्थिक वर्षदेखि सञ्चालनमा आउने बताए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का अध्यक्ष रामचन्द्र क्षेत्री, आम्दा अस्पतालका मेडिकल सुपरीण्टेण्डेण्ट डा. राजेन्द्र बस्याल, स्थानीय आनन्दमान शाक्यलगायतले बोलेका थिए ।
शिविरमा प्रसुति रोग विशेषज्ञ डा. राजेन्द्र बस्याल, डा. बालगोविन्द चौधरी, बालरोग विशेषज्ञ डा. सुन्दर न्यौपाने, स्वास्थ्यकर्मीहरु ज्ञानु केसी, सुनिता चौधरी र शहरी स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरु परिचालन भएको बुटवल उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले जानकारी दिए । स्वास्थ्य परीक्षण शिविर सबै वडाहरुमा क्रमैसँग सञ्चालन हुने उनले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij