
बिहिवार , माघ १, २०७७
बुटवल, १ माघ ।
लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले माघे संक्रान्तिको पूर्व सन्ध्यामा माघी मिलन कार्यक्रम आयोजना गरेका छन् । मुख्यमन्त्री निवासमा विशेष तामझामका साथ मनाइएको सो माघी मिलन कार्यक्रममा विभिन्न झांकीहरु प्रदर्शन गरिनुका साथै दुई दर्जन किसिमका परिकार राखिएको थियो ।
सो अवसरमा प्रदेश प्रमुख धर्मनाथ यादव, संघीय सरकारका संस्कृति, पर्यटन उड्डयन मन्त्री भानुभक्त ढकाल, लुम्बिनी प्रदेशका सभामुख पुर्णबहादुर घर्ती आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसी, भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी, सामाजिक विकास मन्त्री सुदर्शन बराल, कृषि, भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेल, उपसभामुख कृष्णी थारु लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा परिकार ग्रहणका साथै नाचगान र विभिन्न संस्कृति झल्किने झांकीहरु पनि प्रदर्शन गरिएको थियो । लुम्बिनी प्रदेशमा थारुहरुको महान पर्व माघी र भोलीपल्ट पर्ने मगर समुदायको भुमे पुजालाई मध्यनजर गरी प्रदेश सरकारले २ दिन सार्वजनिक विदा दिदै आएको छ। प्रदेशका अन्य समुदायको विशेष पर्वमा भने प्रदेश सरकारले विदा दिने त कुरै छाडौं शुभकामना सन्देश पनि नआउने गरेको स्थानीय बुद्धिजीवीको भनाइ छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij