२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

मर्चवारी–१ मा सार्वजनिक सुनुवाइ

मंगलवार , आषाढ ५, २०८०

भैरहवा, ५ असार ।
रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नम्बर १ मा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । सार्वजनिक सेवा तथा विकास निर्माणको प्रभावकारिता विषयमा सेवा प्रदायक र स्थानीय सरोकारवालाहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सरोकारवालाहरूको तर्फबाट सेमरा आाधारभूत विद्यालय सेमराका प्रधानाध्यापक सुनिल प्रजापति, जबाहिर प्रसाद कुर्मी, सेवाग्राही मुन्सी हरिजन, बाँकेलाल मौर्या, जोखू पासवानलगायतले मुख्यतया शैक्षिक सुधार, विकास निर्माण र बजेट खर्चका बारेमा सुझाव दिएका थिए । 

कार्यक्रममा वडाको संक्षिप्त प्रगति प्रतिवेदन प्रस्तुत गर्दै वडा अध्यक्ष कृष्ण कुमार सिंहले १ नम्बर वडा अन्तर्गतका कुल १६ मध्ये १५ योजना तथा कार्यक्रम सम्पन्न भइसकेको बताए । उनले भने, ‘अहिले बाँकी रहेको एउटा मात्र योजना एक–दुई दिनमै सम्पन्न हुने स्थितिमा छ ।’

वडाअध्यक्ष सिंहले २०७९ साउन महिनादेखि २०८० जेठ महिनाको ३२ गतेसम्म सम्पत्तिकर, मालपोत, घर–जग्गा बहाल कर, सिफारिस दस्तुर, अन्य दस्तुर तथा राजश्व गरी कुल ३ लाख ७१ हजार, १२ रूपैया असुल भइ गाउँपालकिाको बैंक खातामा दाखिला भएको बताए ।

वडाअध्यक्ष सिंहले सामाजिक सुरक्षा भत्ता अन्र्तगत जेष्ठ नागरिक चार सय १६, दलित जेष्ठ नागरिक ६२, उमेर नपुगेका एकल महिला ५८, जेष्ठ नागरिक एकल महिला ३५, भिन्न क्षमता भएका २० गरी कुल जम्मा ६ सय ५१ जनाले सेवा लिनुभएको जानकारी गराए ।

उनले चालु आर्थिक वर्षमा जम्मा पाँच सय २१ वटा घटना दर्ता भएको बताए । उनले, सडक मर्मत तथा पिसीसी ढलान, स्वास्थ्य चौकी भवनमा प्लाष्टर रंगरोगन, विद्युतीय स्प्रे टंकी वितरण, पशुपंक्षी खोप, ह्याण्डपाइप जडान, कुलो निर्माण र जेष्ठ नागरिकलाई सम्मान कार्यक्रम गरिएको बताए ।

उनले वडामा सडकको अवस्था पहिलैदेखि नाजुक रहेको बताउँदै यस आर्थिक वर्षमा सडक निर्माण कार्यलाइ प्राथमिकता दिइएको बताए । उनले भने, ‘बिनियोजित बजेटमा सेमरा आधारभूत विद्यालयमा विद्यार्थीका लागि गर्मीबाट जोगाउन पंखा जडान गरिएको सबैले देखेकै छौं ।’

वडामा भएका गतिविधिहरुको बारेमा सार्वजनिक सुनुवाइमा सहभागीहरुले सोधेको प्रश्नमा गाउँपालिका अध्यक्ष गया प्रसाद बरई, प्रमुख प्रशासकीय अधिकृत मीन प्रसाद भट्टराई, वडाअध्यक्ष कृष्ण कुमार सिंह, दलित सामाजिक विकास केन्द्रका अध्यक्ष छोटे प्रसाद हरिजन, वडा सचिव हेम बहादुर थापालगायतले जवाफ दिएका थिए ।  

दलित सामाजिक विकास केन्द्रको प्राविधिक सहयोग तथा संस्थाका सदस्य चन्द्रिका हरिजनको सञ्चालनमा भएको कार्यक्रमको समापन गर्दै वडाअध्यक्ष सिंहले वडामा भए/गरेका गतिविधिमा आफ्नो साझा चिन्तन रहेको र सार्वजनिक सुनुवाइमा सुझाव तथा सल्लाह दिएकोमा धन्यवाद दिएका थिए ।