२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोपमा वडाध्यक्ष पक्राउ

बिहिवार , माघ १, २०७७

बागलुङ्ग, १ माघ । 
ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोप लागेका बागलुङ्ग जिल्लाको ढोरपाटन नगरपालिका ४ खुंगाका वडाध्यक्ष तिलक पुनलाई प्रहरीले पक्राउ गरेको छ । अदालतमा ज्यान मार्ने मुद्दा परेकाले अदालतको आदेश बमोजिम हिजो अपरान्ह ३ बजे वडाध्यक्ष पुनलाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रहरी निरीक्षक विजय भण्डारीका अनुसार एक वर्षअघि भएको झगडा र कुटपिटको घटनालाई लिएर सोही वडाका लालबहादुर विक लगायत तीन जनाले पुनविरुद्ध प्रहरीमा जाहेरी दिएका कारण उनलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको छ। 

प्रहरीका अनुसार गतवर्ष कात्तिक १२ गते खुंगामा एकापसमा झगडा हुँदा केही स्थानीय घाइते भएका थिए । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पुरानो मुद्दा भएकाले पुनलाई जिल्ला प्रहरी कार्यालय ल्याएपछि अदालत पेश गरिने भण्डारीले बताए ।