
शनिवार , आषाढ ९, २०८०
भैरहवा, ९ असार ।
शनिबार अर्थात सार्वजनिक विदाको दिन । असार ९ गते शनिबार (आज) रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला) आफ्नो कार्यकक्षमा देखिन्थे । कुनै बैठक वा कार्यक्रमका लागि उनी वडा कार्यालय भने पुगेका होइनन् । नागरिकलाई सेवा दिने उद्देश्यले वडा कार्यालयमा आएका यादव कार्यकक्षमा भेटिएका हुन् ।
सिद्धार्थनगर नगरपालिका ४ नम्बर वडा कार्यालयले सार्वजनिक विदाको दिन शनिबार पनि कार्यालय खोलेर सेवा दिन सुरुवात गरेको छ । वडाबासी तथा सेवाग्राहीलाई मध्यनजर गर्दै शनिबार सेवा प्रदान गरिएको सिद्धार्थनगर–४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला) ले बताए ।
उनले भने, ‘अन्य दिन नागरिक तथा सेवाग्राही आ–आफ्नो पेशा व्यवसायमा व्यस्त हुनुहुन्छ । जसका कारण कतिपय अवस्थामा सेवा लिन चाहँदाचाहँदै पनि सम्भव नहुन सक्छ । विदाको दिन फुर्सद होस् भन्ने उद्देश्यले शनिबार पनि सेवा प्रदान गर्न लागिएको हो ।’
नागरिकको सेवाका लागि नै जनप्रतिनिधिको रुपमा निर्वाचित भएकाले उहाँहरुलाई सेवा दिनु आफूहरुको पहिलो प्राथमिकता रहेको वडाअध्यक्ष यादवको भनाइ छ । उनले भने, ‘भोली (आइतबार) देखि रुपन्देहीमा जन्मसिद्ध नागरिकका सन्तानलाई जिल्ला प्रशासन कार्यालयले नागरिकताको प्रमाणपत्र वितरण गर्दैछ । त्यसका लागि भोली वडा कार्यालयबाट सिफारिस गरिनेछ । ’
तर, सिफारिस गर्ने दिन कार्यालयमा सेवाग्राहीलाई सबैकुरा बुझाउँदा केही समय लाग्ने भएकाले शनिबार त्यसबारे जानकारीसमेत गराइएको बताए । वडाअध्यक्ष यादवले कार्यालयको सेवाग्राहीको भिडभाडलाई मध्यनजर गर्दै आवश्यकताअनुसार शनिबार कार्यालय खोलेर सञ्चालन गरिने बताए । उनले भने, ‘अहिले प्रयास गरिएको हो । आगामी दिनमा आवश्यकता हेरेर सोहीबमोजिम कदम चालिनेछ ।’
वडा कार्यालयले शनिबार पनि सेवा प्रवाहको सुरु गरेपछि कार्यालयमा आएका सेवाग्राही पनि खुसी देखिन्थे । स्थानीय दीपक शर्माले शनिबार पनि नभनी जनताको सेवामा खट्ने जनप्रतिनिधिको कार्य उदाहरणीय रहेको भन्दै प्रशंसा गरे ।
वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला) सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ बाट दोस्रोपटक वडाअध्यक्षमा निर्वाचित भएका हुन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij