२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

सिद्धार्थनगर नगरपालिकाको बजेट १ अर्ब १३ करोड

आइतवार , आषाढ १०, २०८०

भैरहवा, १० असार । 
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि रु १ अर्ब १३ करोड ४१ लाख ४२ हजार बराबरको बजेट प्रस्तुत गरेको छ । 

भैरहवामा आयोजित पालिकाको १३ औं अधिवेशनमा सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले ‘कृषि, स्वास्थ्य, पर्यटन, उद्योग, व्यापार र शिक्षा : हराभरा बुद्धभूमि सिद्धार्थनगरको इच्छा’ सहितको नगरपालिकाको दीर्घकालीन सोंचलाई आत्मसात गर्दै वार्षिक बजेट प्रस्तुत गरेकी हुन् ।

संघीय सरकारबाट समानीकरण अनुदानमा रु. १७ करोड ९ लाख, सशर्त अनुदानमा रु. २ करोड ५४ लाख, समपुरक अनुदान रु. ८० लाख, विशेष अनुदान रु. ९० लाख र राजस्व बाँडफाँडमा रु. १० करोड ४३ लाख ४६ हजार आम्दानी हुने नगरपालिकाको अनुमान छ ।

प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान १ करोड ३७ लाख ३३ हजार, सशर्त अनुदान ८६ लाख ५० हजार रुपैयाँ, राजस्व बाँडफाँडबाट ८६ लाख ८० हजार ४ सय १३ रुपैयाँ, समपुरक अनुदान रु १ करोड ५० लाख रुपैयाँ प्राप्त हुने उपप्रमुख अधिकारीले बताइन् ।

सिद्धार्थनगर नगरपालिकाको दीर्घकालिन सोच, उद्देश्य, रणनीतिसहितको आवधिक योजना निर्माण गर्न रु १० लाख विनियोजन गरिएको छ । नगरक्षेत्र भित्रका विपन्न नागरिकका लागि सुरक्षित आवासको सुनिश्चितता गर्न मेयर आवास कार्यक्रमलाई रु. ३५ लाख विनियोजन गरिएको उपप्रमुख अधिकारीले बताइन् ।

नगरपालिका क्षेत्रभित्र पर्यटकलाई आकर्षित गर्न उपयुक्त स्थानमा आधुनिक घण्टाघर निर्माणको लागि रु ४५ लाख विनियोजन गरिएको छ ।

जेष्ठ नागरिकको घरदेलोमै पुगी स्वास्थ्य परीक्षण का लागि रु दुई  लाख  ५० हजार विनियोजन गरिएको छ । 
नगरवासीहरुको लागि रणअम्विका आँखा अस्पतालको सहकार्यमा निशुल्क आँखा जाँच शिविरका लागि रु. १० लाख विनियोजन गरिएको छ । 

त्यस्तै नगरवासीहरु कोही पनि रगतको कमीले अकालमै ज्यान गुमाउनु नपरुस भन्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा निःशुल्क रुपमा रगत उपलब्ध गराउने कार्यक्रमका लागि  रु १० लाख बजेट प्रबन्ध गरिएको उपप्रमुख अधिकारीले बताइन् ।

छाडा चौपाया व्यवस्थापनका लागि कान्जिहाउस निर्माण र घाट व्यवस्थापन गर्न बजेटको व्यवस्था गरिएको छ ।
उपप्रमुख सुरक्षित मातृत्व प्रवर्द्धन कार्यव्रmम अन्तर्गत उपमेयर सुत्केरी भेट कार्यक्रमलाई यस आर्थिक वर्षका लागि पनि निरन्तरता दिइएको छ ।  जसका लागि रू.१२ लाख बजेट विनियोजन गरिएको छ । आमा र बच्चाको शरीर जोखिम न्यूनीकरणको लागि मातृ शिशु प्रवर्द्धन कोष स्थापना गरी सो कोषमा रु ५ लाख विनियोजन गरिएको छ भने पोषणमैत्री स्थानीय शासन प्रवर्द्धनका लागि रु २ लाख विनियोजन गरिएको छ ।

कृषि सामग्री वितरण, ताजा तरकारी उत्पादनका लागि मौसमी तथा बेमौसमी तरकारी खेती सम्बन्धी स्थलगत घुम्ति तालिम, तरकारी बालीको उत्पादन, प्रर्दशन र तरकारी बीउको मिनी किट वितरणका लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।

नगर क्षेत्रको फोहरमैला व्यवस्थापन, फोहोरलाई श्रोतमै न्यूनीकरण, प्लाष्टिक प्रयोगलाई निरुत्साहित गर्न, मुख्य नालाको दैनिक सरसफाई, ठूला तथा साना नाला सरसफाईको लागि रु २० लाख, नगर कार्यपालिकाको मुख्य मुख्य स्थानमा सार्वजनिक शौचालय निर्माण का लागि ४५ लाख विनियोजन गरिएको छ । क्लिन ग्रिन एण्ड इन्भाइरोमेन्ट फ्रेण्डली सिटी कार्यक्रम सञ्चालनको लागि रु ४५  लाख बजेट व्यवस्थापन गरिएको नगरप्रमुख इश्तियाक अहमद खानले बताए ।

पर्यटनतर्फ पर्यटन सहकारीमा लगानि ,नगरभित्र पर्यटन सूचना केन्द्र संचालन ,नगरक्षेत्र भित्रका पर्यटकीय क्षेत्र तथा गन्तब्य को पहिचान तथा  पर्यटन प्रवर्द्धनात्मक क्रियाकलापका लागि रु तीन लाख विनियोजन गरिएको छ ।
नगरपालिका क्षेत्रभित्र पर्यटकलाई आकर्षित गर्न उपयुक्त स्थानमा आधुनिक घण्टाघर निर्माणको लागि रु ४५ लाख विनियोजन गरिएको छ ।

बजेट अगावै नगरप्रमुख इश्तियाक अहमद खानले १३३ बुंदे नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ‘कृषि, पर्यटन, उद्योग, व्यापार र शिक्षा र हराभरा बुद्धभूमि सिद्धार्थनगरको ईच्छा’ भन्ने नगरपालिकाको दीर्घकालीन सोच रहेको उनले बताए ।
नगरपालिकामा सुशासन कायम गर्दै सर्वाङ्गिण क्षेत्रको संस्थागत विकासमा जोड दिइने, कृषिको आधुनिकीकरण, सहकारी क्षेत्रको सुशासन, पर्यटन र उद्योग–व्यापार क्षेत्रको विस्तार र विविधिकरणमा जोड दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।