
आइतवार , आषाढ १७, २०८०
भैरहवा, १७ असार ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ को कार्यालयले वडाभित्र रहेका जेष्ठ नागरिक, एकल महिला तथा अपांगता भएका व्यक्तिहरुलाई सम्मान गरेको छ । वडा कार्यालयले शनिबार मारवाडी सेवा संघको सभाहलमा कार्यक्रम गरी सम्मान गरेको हो । कार्यक्रममा सम्मानित व्यक्तिहरुलाई पौष्टिक आहारसमेत वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।
वडा कार्यालयले यस वर्ष पनि जेष्ठ नागरिक, एकल महिला र अपांगता भएका व्यक्तिहरुलाई सम्मान कार्यक्रमलाई निरन्तरता दिएको वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठले बताए । उनले जेष्ठ नागरिक धरोधर र अभिभावक भएकालाई उहाँहरुलाई सम्मान गर्नुपर्ने बताए । उनले भने, ‘हामीले सम्मान गर्दा हाम्रा सन्ततिले पनि सम्मान गर्न सिक्छन् ।’ वडाअध्यक्ष श्रेष्ठले वडाको विकासका लागि वडाबासीको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिए ।
कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले सिद्धार्थनगर वडा नम्बर ५ को कार्यालयले समयसमयमा महत्वपूर्ण कार्य गरेको बताए । उनले नगर क्षेत्रमा सीसीटिभी क्यामेरा जडानका लागि नगरपालिकाले बजेट बिनियोजन गरिसकेको जानकारी दिए । नगरप्रमुख खानले सिद्धार्थनगर–५ मा छठपोखरी, बालमन्दिरलगायतमा बजेट बिनियोजन गरिएको बताए ।
त्यस्तै नगर उपप्रमुख उमा अधिकारीले राज्यले जेष्ठ नागरिक, एकल महिला र अपांगता भएका व्यक्तिहरुलाई दिइरहेको सुविधा लिनुपर्ने बताइन् । उनले भनिन्, ‘आफूले पाउने सेवासुविधा लिनुपर्छ । उपप्रमुख अधिकारीले पछिल्लो समय चोरीका घटना बढेकाले सचेत हुनुपर्ने बताइन् । ’ उनले घरको कोठामा भाडामा दिदा भाडामा लिने व्यक्तिको बारेमा राम्रोसँग बुझ्न आग्रह गरिन् ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले सिद्धार्थनगर–५ ले धेरै कार्यक्रम गरेको बताए । उनले वडा नम्बर ५ मा सबैभन्दा कम बजेट विनियोजन भए पनि यो वडामा धेरै कार्यक्रमहरु भएको बताए । उनले भने, ‘सीमित बजेटमा वडा कार्यालयले सबैलाई समेट्ने प्रयास गरेको छ । ’ सामाजिक विकास वडा कार्यालयले जोड दिएको छ ।
समाजसेवी नारायण प्रसाद अग्रवालले वडा नम्बर ५ को कार्यालय प्रत्येक महिना कम्तीमा ५–६ वटा कार्यक्रम गर्दै आएको बताए । उनले वडा नम्बर ५ ले सराहनीय कार्य गरेको बताए । उनले चोरीडकैतीका घटना बढ्नु चिन्ताको विषय भएकोले सुरक्षामा ध्यान दिनुपर्ने बताए ।
भैरहवा मर्निङ वाक ग्रुपका अध्यक्ष ओमकार गौचनले भने, ‘वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठ निरन्तर वडाको विकासका निम्ति लागिपर्नुभएको छ । उहाँमा अझ धेरै कार्यक्रम गर्ने उत्साह जागोस् । ’
चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) का वरिष्ठ उपाध्यक्ष दर्पण श्रेष्ठले वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठ धन्यवादको पात्र भएको बताए । उनले सानो वडामा धेरै कार्यक्रमहरु भएको बताए ।
सिद्धार्थनगर–५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठको अध्यक्षता, नगरप्रमुख इश्तियाक अहमद खानको प्रमुख आतिथ्यता तथा वडा सदस्य सरस्वती श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न कार्यक्रम संयोजक तथा वडा सदस्य विनित बेरिवालले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij