
मंगलवार , आषाढ १९, २०८०
भैरहवा, १९ असार ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको कार्यालयले नगरबासीहरुलाई विरुवा वितरण कार्य सुरु गरेको छ । नगरलाई ‘क्लीन’, ‘ग्रीन’ एण्ड ‘इको फ्रेण्डली’ बनाउने अभियानअन्र्तगत नगरपालिकाको कार्यालयले मंगलबारदेखि नगरबासीहरुलाई विरुवा वितरण सुरु गरेको हो ।
वर्षा सुरु भएपश्चात ७५ प्रतिशत अनुदानमा विभिन्न प्रकृतिका ४ हजार ४ सय फलफूलका विरुवा वितरण कार्य सुरु गरिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले बताए ।
नगपालिकाको कृषि शाखा प्रमुख योगेन्द्र प्रसाद यादवकाअनुसार आँपको अमरपाली, दशहरी, माल्दा, बम्बईया प्रजाती, लिची, अनार, कटहर, अम्बा, अमला र एभोकाडोको विरुवा वितरण भइरहेको छ । उनले पहिलो दिन २ सय ७० जना नगरबासीले विभिन्न प्रजातीका विभिन्न विरुवा अनुदानमा लगेको बताए ।
‘वर्षायाम सुरु भएपछि वृक्षारोपणका लागि हामीले फलफूलका विरुवा वितरण गरेका हौं’ सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले भने, ‘यसपछि नगरपालिकाको कार्यालयबाट पनि नगरमा वृक्षारोपण गर्ने तयारी छ । जसका लागि हामीले विरुवा पनि ल्याएर राखिसकेका छौं ।’ उनले नगरलाई ‘क्लीन’, ‘ग्रीन’ एण्ड ‘इको फ्रेन्डली’ बनाउनका लागि विरुवा वितरण गरिरहेको र वृक्षारोपण गर्ने तयारी गरेको बताए ।
‘नगरलाई हरियाली बनाउनका लागि हाम्रो एकल प्रयासले मात्र हुँदैन’ उनले भने, ‘नगरवासीहरुले पनि नगरका विभिन्न स्थानमा स्वतस्र्फूत रुपमा वृक्षारोपण गर्नुपर्छ । वृक्षारोपणले नगर सुन्दर हुनुका साथै यस क्षेत्रको बढ्दो तापक्रमलाई घटाउनमा पनि मद्दत पुग्नेछ ।’
सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा अधिकारीले वृक्षारोपणले नगरलाई हरियाली बनाउने भएकाले विरुवा रोप्न आग्रह गरिन् । उनले नगरपालिकाको अभियानमा नगरबासीको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिइन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij